काठमाडौं,
फागुन २४ ।
यसअघि, दुबइमा दुई पटक र मलेसियामा एक पटक आयोजना भएको ‘नेपाली म्युजिक भिडियो अवार्ड’को चौथो संस्करण हङकङमा आयोजना हुने भएको छ । यो अवार्डको उत्कृष्ट पाँच मनोनयनमा परेका कलाकर्मीलाई शनिबार आयोजित कार्यक्रममा प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।
संगिक्षा फिल्मस्को आयोजनामा हुन लागेको अवार्डमा ४१ विधा समावेश गरिएको छ । जसमा राष्ट्रिय भावनाका गीत, आधुनिक, लोक, पप, नेपाल भाषा र डायस्पोरा विधा समावेश छन् ।
यो अवार्डको हङकङ आयोजना एभरेष्ट इन्टरनेशनल ट्रेडिङ कम्पनीले गर्दैछ । शनिबार आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा सङ्गीतकार शम्भुजित बास्कोटालाई ‘फादर अफ म्युजिक भिडियो’बाट सम्मान गरिने संगीक्षा फिल्मस्का अध्यक्ष मनोज केसीले जानकारी दिए । यस्तै, गायक सिताराम पोख्रेललाई ‘ट्रेन्ड सेटर्स अवार्ड’ प्रदान गरिने कार्यक्रममा जानकारी दिइएको छ ।
यो अवार्ड आयोजनामा बक्स अफिस ग्रुपले पनि सहकार्य गरेको छ । मनोनयन सार्वजनिक कार्यक्रममा प्रमुख अतिथीका रुपमा नायिका करिश्मा मानन्धर र चलचित्रकर्मी उद्धव पौडेल उपस्थित थिए । उनीहरूले मनोनयमा परेका कलाकर्मीलाई प्रमाणपत्र वितरण गरे । कार्यक्रममा विशिष्ट अतिथीको रुपमा सङ्गीतकार शम्भुजित बास्कोटा उपस्थित थिए ।
कार्यक्रममा नेपाली म्युजिक भिडियो क्षेत्रका कलाकार, निर्माता, निर्देशक, छायांकरहरूको उल्लेख्य उपस्थिती थियो । मोडलहरू पल शाह, आकाश श्रेष्ठ, सुधिर श्रेष्ठ, दुर्गे थापा, पूजा शर्मा, वर्षा सिवाकोटी, मलिका महत्त, रियाशा दाहाल, गरिमा शर्मालगायत कार्यक्रममा पुगेका थिए । यस्तै, गायिका देविका बन्दना, प्रश्ना शाक्यलगायत पनि कार्यक्रममा उपस्थित थिए ।






