सत्ता, दम्भ र स्वार्थका निम्ति दल, नेतृत्व लागिरहने प्रवृतिले समस्या

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
फागुन ११ ।

यति बेला देश राजनीतिक सङ्कटले अप्ठारोमा परेको छ । देशको राजनीतिक सङ्कट समाधान गर्नेतर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता देखिएको छ । लामो समयसम्म राजनीतिक सङ्कट यही अवस्थामा रहने हो भने देशमा खतरा आउन सक्छ । पौष ५ मा प्रधानमन्त्रीले संसद् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि राजनीतिक सङ्कट बढ्दै गएको छ ।

मुलुकमा शान्ति, विकास र सामाजिक न्यायसहित समृद्धि हासिल गर्दै समाजवादको आधार निर्माणको दिशामा अगाडि बढनुपर्नेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित भएर एकले अर्कोलाई आरोप प्रत्यारोप लगााउँदै हिड्नु खासै राम्रो सङ्केत होइन । संविधान जारी भएको पाँच वर्ष नपुग्दै मुलुकमा यस्तो गम्भीर खालको राजनीतिक सङ्कट निम्तनु नेपाल र नेपाली जनताको लागि दुःखद पक्ष हो । सार्वभौम जनताको प्रतिनिधि संस्था संसद्लाई विघटन गर्नु हुँदैन्थ्यो । यसले संविधानका मूल्यमान्यतामा गम्भीर खालको चुनौती खडा भएको छ ।

आर्थिक सामाजिक रूपान्तरणका जनमुखी कार्यक्रम आजको आवश्यकता हो । राजनीतिक सङ्कटलाई छिटो समाधान गर्नुपर्छ । राजनीतिक सङ्कट उत्पन्न हुनमा नेकपाका दुबै खेमा दोषी छन् । नेकपाका दुबै खेमाले दम्भको राजनीतिलाई छाडेर वर्तमान सङ्कट समाधान गर्नेतर्फ लाग्नुपर्छ । नेकपाले नेपाली जनता र देशलाई धोका दिने काम गरेको छ । यो कुरा नेपाली जनताले चुनावको परिणाम बाट निश्चय नै फैसला गर्ने नै छन् ।

सत्तामा पुगेपछि सत्ता उन्मादले जुन सुकै शासकलाई पनि अन्धो बनाउँछ । सत्ताको घुम्ने कुर्सी नै त्यस्तै हुँदो रहिछ कि क्या हो । कवि भूपि शेरचनले त्यसै भनेका होइनन्रहेछ ‘घुम्ने मेच माथि अन्धो मान्छे’ । यो कुरा वर्तमान शासकलाई मात्र भन्न खोजेको होइन, विगतका शासकको पनि यही प्रवृति रहेछ । दलीय व्यवस्थामा शासक जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्छ । आफू खुसी शासन चलाउन पाइदैन । यसले अहिले जस्तै भोलि पनि राजनीतिक सङ्कट उत्पन्न गराउन सक्छ । अहिले पनि जनतामा उत्साह छैन । जनतामा निराशा, आक्रोशको मात्रा बढेर गएको छ । विगतमा राजनीतिक दलबीचमा भएको सहकार्य र एकताबाट जुन परिवर्तन भयो र सहमतिबाट संविधान जारी भयो । तर, संविधान जारी भएपछि राजनीतिक दलबीचमा ध्रुर्वीकरण भयो । अझ पछिल्लो समय संसद् विघटनको कदमले राजनीति ध्रुर्वीकरण बढेर गएको छ ।

देशभित्र रोजगारीका अवसर नपाउँदा रोजगारीको खोजीमा ५०औं लाख नेपाली विदेशतिर भौतारिरहनुपर्ने जुन स्थिति छ, यसले पनि सङ्कट उत्पन्न गरेको छ । सार्वभौमसत्ता सम्पन्न जनता भनेर संविधानले प्रत्याभूत गरेको छ । तर, जनताको राज्यसत्तामा भएको बेथितिलाई निगरानी र नियन्त्रण गर्ने क्षमता कमजोर बनेको छ ।

नेता नै सबै थोक हो भन्ने सामन्तवादी सोच हाबी रहेको छ । पार्टीमा आन्तरिक लोकतन्त्र सुदृढ हुन सकेको छैन । कार्यकर्ता पार्टीको नीति होइन, अमुक नेताका पछि लाग्ने गुटबन्दीपूर्ण अभ्यासले गर्दा पनि पार्टीहरू पद्धतिसम्मत ढङ्गबाट सञ्चालन हुन सकिरहेका छैनन् । जसले गर्दा आन्तरिक लोकतन्त्र कमजोर भएको छ । राजनीतिक क्षेत्रमा उत्पन्न समस्या र सङ्कटले आर्थिक सामाजिक क्षेत्रमा समेत सङ्कट उत्पन्न गरेको छ । बोलीमा सत्ता स्वार्थ गौण भनिए पनि समस्या त्यसकै वरपर घुमिरहेको छ । लोकतन्त्रमा दलको विकल्प दल नै हुन् । दलभित्र भिन्न व्यक्ति, प्रवृत्ति, संस्कृति र राजनीति हुन्छन् ।

सत्ता, दम्भ र स्वार्थका निम्ति दल, नेतृत्व लागिरहने हो भने राष्ट्रको मुहार फेरिने छाँटकाँट देखिन्न । राष्ट्रलाई सही गति, राजनीतिको दिशा निर्देशन, जनताको उन्नति, राष्ट्रिय स्थायित्व, विकास र सम्वृद्धिका निम्ति नेतृत्व वर्गले स्वार्थ त्याग्नै पर्छ ।

यसमा तपाइको मत

अन्य समाचार