ललितकला पत्रकारिता पुरस्कार बाट पाँच जना सञ्चारकर्मी पुरस्कृत

ललितपुर,
फागुन ७ ।

ललितकला पत्रकारितामा योगदान दिएका पाँच जना सञ्चारकर्मी पुरस्कृत भएका छन् । नेपाल ललितकला पत्रकार समाज (सोफाज) ले हरेक वर्ष प्रदान गर्दै आइरहेको नारायणबहादुर सिंह स्मृति ललितकला पत्रकारिता पुरस्कार-२०७६ बाट दीपक श्रेष्ठ (विहीन) र २०७७ बाट सिर्जु बज्राचार्य पुरस्कृत भएका हुनुभएको हो । ललितकला पत्रकारिता, समीक्षा तथा कला इतिहासका अग्रणी व्यक्तित्व नारायणबहादुर सिंहको स्मृतिमा समाजले सो पुरस्कार स्थापना गरेको हो ।

यस्तै, सोफाज-लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार-२०७६ बाट हेमन्त गौतम र २०७७ बाट दीपक परियार पुरस्कृत हुनुभएको छ । क्रोधकला शिरोमणि कालु कुमालेले स्वर्गीय पत्नी लक्ष्मीमाया कुमालेको स्मृतिमा सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको हो । यसैगरी, सोफाज ललितकला पत्रकारिता पुरस्कारबाट राधा पौडेल (अजवी) पुरस्कृत हुनुभएको छ । सबै पुरस्कारको राशि ११ हजार १११ रुपैयाँको रहेको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, क्रोधकला शिरोमणि कालु कुमाले र सोफाजका अध्यक्ष केशवराज खनालले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा कुलपति केके कर्माचार्यले पुरस्कृतलाई बधाई दिँदै ललितकलाको विकास र विस्तारमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा समाजका उपाध्यक्ष मधु शाहीले ललितकला क्षेत्रलाई जनस्तरसम्म पुर्‍याउन सञ्चार माध्यमको विशिष्ट भूमिका रहेको बताउनुभयो । उहाँले नारायणबहादुर सिंह र लक्ष्मीमाया कुमालेका बारेमा चर्चासमेत गर्नुभयो । क्रोधकला शिरोमणि कालु कुमाले फाउण्डेशनका अध्यक्ष राकेश अवालेले कलाइक्षेत्रलाई सञ्चार माध्यमले निकै सहयोग गर्दै र प्रचार प्रसारमा समेत विशिष्ट भूमिका खेल्दै आएको बताउनुभयो । समाजका कोषाध्यक्ष दिवेश प्रधानले पुरस्कृत व्यक्तित्वको चर्चा गर्दै कलालेखनलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

पुरस्कृत व्यक्तित्व हेमन्त गौतमले पुरस्कारले आफूलाई अझै जिम्मेवारी थपेको बताउनुभयो । उहाँले कलालाई आमजनमानसमा पुर्‍याउन सञ्चार माध्यमले खेलेको भूमिकालाई अझ फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रमेश खनालले पुरस्कृतलाई शुभकामना दिँदै ललितकलालाई पत्रकारिता क्षेत्रले अगाडि बढाउन सहयोग गर्दै आएको बताउनुभयो । नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशवराज खनालले नेपाली ललितकला पत्रकारिता क्षेत्रका चुनौतीलाई चिर्दै अगाडि बढिरहेको जनाउनुभयो ।

यसैबीच, बिहीबार सम्पन्न सोफाजको साधारणसभाले केशव राज खनाललाई तीन वर्षका लागि पुनः अध्यक्षमा निर्वाचित गरेको छ । यस्तै, उपाध्यक्ष मधु शाही, महासचिव देवेन्द्र थुम्केली, सचिव संगीता श्रेष्ठ र कोषाध्यक्षमा सुनिता लोहनी चयन हुनुभएको छ । यसैगरी, सदस्यमा दिवेशमान सिंह प्रधान, सुनिता साखकर्मी, सीताराम बडाल, रामनाथ घिमिरे र प्रकृति दाहाल रहनुभएको छ । एक सदस्य पछि थप गरिने बताइएको छ ।

 

यसमा तपाइको मत

अन्य समाचार