एनआरएनएको विश्वव्यापी ‘टेली-हेल्थ’ सेवा सुरु

काठमाडौं,
फागुन ४ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त प्रयासमा विश्वव्यापी विस्तृत टेली-हेल्थ सेवा सुरु भएको छ । गत शुक्रबारदेखि सुरु भएको यो सेवाबाट विश्वका कुनै पनि ठाउँमा बसोबास गर्ने नेपाली मूलका कुनै पनि व्यक्तिले लाभ लिन सक्नेछन् । यस कार्यक्रममा सबै क्षेत्र र विधाका स्वास्थ्य विशेषज्ञ र चिकित्सकहरु सहभागी छन् ।

मिर्गौला, कलेजो, मुटु, आँखा, नाक, कान, घाँटी तथा मुखसम्बन्धी स्वास्थ्य विज्ञदेखि डाइटिसियन र फिजियोथेरापिस्ट, दन्त चिकित्सकलगायत अन्य थुप्रै स्वास्थ्य विज्ञहरुले जिज्ञासा वा समस्याको सम्बोधन गर्ने संघले विज्ञप्तिमार्फत जनाएको छ ।

टेली-हेल्थ कार्यक्रमबाट कसरी सेवा लिने ?
तपाईंले आफ्नो मोबाइलमा रहेको भाइबर, ह्‌वाट्सएपमार्फत टेली-हेल्थ कार्यक्रममा सहभागी हुन वा यसमार्फत स्वास्थ्य विज्ञहरु सँग प्रत्यक्ष सम्पर्क गर्न सकिने संघले जनाएको छ । त्यसका लागि नेपालबाहिर भए ९७४-५५५-६५३२० वा ९७७ ९८०-२३१-४७३९ र नेपालभित्र भए मोबाइल नम्बर ९८०२३१४७३९ मार्फत सम्पर्क गर्न सकिनेछ । साथै telehealth@nrna.org मा इमेलमार्फत आफ्ना स्वास्थ्य जिज्ञासा लेखेर पठाउन सकिनेछ ।

टेलीहेल्थ कार्यक्रमबाट सेवा प्राप्त गर्न शुल्क लाग्छ ?
यस कार्यक्रमार्फत सेवा लिए बापत कुनै पनि शुल्क लाग्दैन । यो नितान्त निशूल्क कार्यक्रम हो, जुन गैरआवासीय नेपाली संघमार्फत विश्वव्यापी रुपमा नेपाली समुदायलाई प्रदान गर्नका लागि सुरु गरिएको हो ।

के यो कार्यक्रमले विशेषज्ञ र परामर्शदाताहरुलाई सेवा शुल्क प्रदान गर्दछ ?
यस कार्यक्रममा सहभागी सबै स्वास्थ्य विज्ञ, चिकित्सकहरुलाई सेवा दिए बापत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।

टेलीहेल्थ कार्यक्रममार्फत कस्ता खाले स्वास्थ्य समस्याबारे जानकारी लिन सकिन्छ ?
विश्वका जुनसुकै कुनामा भएपनि सरल र सहज रुपमा भर्चुअल माध्यमबाट तपाईले फोन ९ख्ष्खभच, ध्जबततकब्उउ० वा ईमेल गरेर आफ्ना स्वास्थ्य समस्याहरुबारे जिज्ञासा राख्न सक्नुहुनेछ । यूरोप होस् वा अमेरिका, अफ्रिका होस् वा मध्यपूर्वका जुनसुकै राष्ट्रबाट पनि यस कार्यक्रममा जोडिन सकिनेछ ।

उदाहरणहरु: जस्तै बहराइनमा कार्यरत नेपालीलाई शरीर भरी चिलाउन थालेमा वा मलेसियामा कार्यरत महिला जो एक सातादेखि टाउको दुखेर हैरान छिन् वा रसियामा कार्यरत कुनै नेपालीलाई घुँडाको दुखाई छ, वा दक्षिण कोरियामा एक नेपालीलाई मानसिक विचलनको समस्या देखा परेको छ भने, उनीहरुले फोन वा इमेलमार्फत टेलिहेल्थ कार्यक्रममार्फत स्वास्थ्य परामर्श लिन सक्नेछन । उनीहरुले मोबाइल , फोन एसएमएस गरेर वा इमेलमार्फत आफ्ना समस्या राख्न सक्छन । फोन वा इमेल प्राप्त भएपछि सेवामा खटिएका डाक्टर वा नर्सले कुरा गर्नेछन् । उनीहरुको समग्र समस्या सुनेर स्वास्थ्य अवस्था मूल्यांकन गर्नेछन् र सम्बन्धित विशेषज्ञलाई जोडेर स्वास्थ्य समस्या सम्बोधनका लागि सल्लाह वा परामर्श दिनेछन् ।

यो टेलीहेल्थ कार्यक्रमले के गर्दैन ?
यसले आपतकालीन स्वास्थ्य सेवाहरू प्रदान गर्दैन । टेलिहेल्थ कार्यक्रमले सम्बन्धित स्वास्थ्य समस्याका बारेमा परामर्श दिन सक्छ तर तपाईलाई आवश्यक औषधी उपलब्ध गराउन सक्दैन । सम्बन्धित मुलुकको नीति, नियम र कानून मातहत रहेर काम गर्नुपर्ने भएकाले यो कार्यक्रमले ती कानूनको बर्खिलाप हुने कुनैपनि काम गर्दैन । यदि तपाईलाई गम्भीर र आपतकालिन समस्या परे तपाईले तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्नेछ ।

यस कार्यक्रमले कसरी बिरामीको जानकारी गोप्य राख्न निश्चित गर्दछ ?
यस कार्यक्रमको माध्यमबाट टेलि–हेल्थ खोज्ने प्रत्येक व्यक्तिको गोप्यता उनीहरूलाई टेलिहेल्थ प्रदान गर्ने जत्तिकै महत्त्वपूर्ण छ । हामीसँग भएको प्रणाली र संयन्त्रबाट सबै परामर्शहरू गोप्य राख्न सुनिश्चित गर्छ । डाक्टर र विशेषज्ञ बाहेक ब्यक्ती को स्वास्थ्य सम्बन्धि जानकारी कसैलाई थाहा हुँदैन । एनआरएनएको स्वास्थ्य समिति यो सुनिश्चित गर्न चाहान्छ कि स्वास्थ्य जानकारी सुरक्षित र गोप्य रूपमा राखिनेछ ।

डाँफे केयर के हो र यस टेलि-हेल्थ कार्यक्रममा यसको भूमिका के हो ?
डाँफे केयरले धेरै जसो नेपालमा, तर विदेशमा पनि, धेरै वर्षदेखि टेलि परामर्शहरू प्रदान गर्दै आएको छ । स्वास्थ्य समितिले नेपालीलाई विश्वव्यापी रूपमा टेलिफोन परामर्श प्रदान गर्न डाँफे केयरसँग मिलेर काम गर्नेछ ।

मलेसिया, टर्की, नाइजेरिया, कुवेतमा रहेका स्वास्थ्य विशेषज्ञहरुले टेलीहेल्थ मार्फत परामर्श दिनेछन् ।

यसमा तपाइको मत

अन्य समाचार