काठमाडौं,
फागुन १ ।
फेशन डिजाइनर निशा श्रेष्ठले चाबहिलस्थित गणेशस्थानमा नयाँ बुटिक सञ्चालनमा ल्याउनुभएको छ । गणेशस्थान नजिकै सञ्चालनमा ल्याएको ‘निनिज् बुटिक’को शनिबार एक समारोहबीच ‘नेपाल स्टार’ तथा अभिनेत्री विष्णु चेम्जोङले उद्घाटन गर्नुभएको हो ।
प्रणय दिवश अर्थात ‘भ्यालेन्टाइन-डे’को एक दिनअगाडि सञ्चालनमा ल्याइएको उक्त बुटिकले युवापुस्ताको रुचिअनुसार पहिरन तयार गर्ने लक्ष्य डिजाइनर निशाले लिनुभएको छ ।
‘फेसन डिजाइनरप्रति पहिलेबाटै रुचि थियो’ डिजाइनर तथा बुटिककी सञ्चालक निशाले भन्नुभयो, ‘तर, डिजाइनिङमा अलिक दक्ष भएरमात्रै खोलौँ भनेर बसेकी थिएँ । त्यसैले कोर्ष पूरा गरेर बुटिक सञ्चालनमा ल्याएकी हुँ ।’
बागबजारस्थित आईआईएफटी ‘स्कूल अफ फेसन’मा फेसन डिजाइनिङमा डिप्लोमा कोर्ष पूरा गर्नुभएकी निशाले ‘निनिज् बुटिक’ सञ्चालनमा ल्याउनु भएको हो । उक्त फेसन कलेजबाट डिजाइनर कोर्ष गरेर बुटिक सञ्चालन गर्ने निशा पछिल्लो डिजाइनर हुनुहुन्छ । यसअघि आईआईएफटीका दर्जन बढी विद्यार्थीले बुटिक सञ्चालनमा ल्याएका छन् ।
फेसन डिजाइनर निशाले बुटिकको नाम नेवारी भाषामा राख्नुभएको छ । ‘नेवारी भाषामा निनिज्को अर्थ पूपु हुन्छ’ उहाँले भन्नुभयो, ‘नेवारी नाम भएपनि यो म, मेरो श्रीमान् र छोरीको नामबाट मिलाएर निनिज् राखेकी हुँ ।’ उहाँले समय सापेक्षित ग्राहकको मागअनुसार पहिरन तयार गर्ने बताउनुभयो ।
निनिज्ले पनि अरु बुटिकहरूजस्तै गाउन, सारी, लेहेँगालगायत क्याजुअल परिहनलाई नै प्राथमकिता दिने उहाँको भनाइ छ । बुटिकले सर्वसुलभ मूल्यमा गुणास्तरिय पहिरन उपलब्ध गराउने निशाले बताउनुभयो ।
बुटिक उद्घाटन गरेपछि अभिनेत्री तथा गायिका विष्णुले भन्नुभयो, ‘यसरी बुटिकहरू खुल्दा खुसी लाग्छ ।’ आफू त्यतिधेरै फेसन कन्सस नभएपनि राम्रो लगाउन भनेपछि हुरुक्कै हुने विष्णुले सुनाउनुभयो । निनिज बुटिकले नै तयार गरेको आफ्नो फेभरेट कलरको गाउनमा उपस्थित भएकी विष्णुले भन्नुभयो, ‘म फेसनसम्बन्धी अलि फरक छु । मान्छेहरू फेसन भनेपछि ट्रेण्डलाई फलो गर्छन् । तर, म त्यो पक्षमा छैन ।’ ‘ब्ल्याक एण्ड ह्वाइट’ आफ्नो फेभराइट भएको भन्दै विष्णुले भन्नुभयो, ‘हेर्दा नराम्रो देखिएपनि लगाएपछि सुहाउँछ भने मलाई मनपर्छ ।’
यसैबीच विष्णुले आफ्नो पेसाबारे भन्नुभयो, ‘कोरोना संक्रमणका कारण सबै काम रोकिएको थियो । अब बल्ल नयाँ कामहरु सुरु गर्दैछु ।’






