काठमाडौं,
माघ २९ ।
भोमन कटुवालको निर्देशनमा बन्न लागेको चलचित्र ‘ए’ ले कलाकारको खोजी शुरु गरेको छ । चलचित्रको लागि कलाकारको अडिसनको जिम्मेवारी लिएको चलचित्र चौतरीले आगामी फागुन २ गते चलचित्र विकास कम्पनी वनस्थलीमा अडिसन गर्दैछ ।
चौतरीले चलचित्रका लागि चार चरित्र अभिनेता र दुई चरित्र अभिनेत्री गरी जम्मा ६ जना कलाकारको अडिसन हुने जनाएको छ । भोमन कटुवाल र आकाश उखेडाको लेखन रहेको चलचित्रमा प्रल्हाद काफ्लेको लगानी छ ।
विलभ्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा प्रमोद अग्रहरी, सोहित मानन्धर, दुर्गेश थापा, रामबाबु रेग्मी, सिएम भारद्वाज र विकेश प्रजापति फाइनल भइसकेका छन् । चलचित्र काठमाडौ र बनेपा आसपास छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।






