समिति सत्तास्वार्थको लागि मात्र राजनीति

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
माघ २८ ।

यतिबेला देशको राजनीतिक अवस्था जटिल मोडमा छ । अहिलेको राजनीतिक गतिविधि हेर्दा जनता निराश देखिन्छन । जनतामा निराशा आउनु भनेको राम्रो सङ्केत होइन । देशको राजनीतिक सङ्कटका कारण देशी-विदेशी हस्तक्षेप बढिरहेको देखिन्छ । आज देशको अवस्था बिग्रदै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले राजनीतिक धुव्रिकरण बढेर गएको छ ।

प्रतिनिधिसभा विघटनपछि केही दलहरू प्रतिनिधिसभा पुनस्र्थापना हुनु पर्ने माग राखि सडक आन्दोलनमा छन् । आन्दोलन किन र के को लागि ? नेपाली जनता आन्दोलनका पक्षमा छैनन् । देशको हितमा छैन आन्दोलन । दलहरूका आन्दोलन कुर्सीका लागि हो । बिगतमा आन्दोलनका बलमा भएका परिवर्तनबाट जनताले के पाए ? जनताको जीवन शैलिमा परिवर्तन आयो कि आएन ?

यी प्रश्नको जवाफ नेताहरूले दिनुपर्छ । आन्दोलन नेताहरूको कुर्सीको लागि हो । वर्तमान समस्याको समाधान दलहरूले खोज्नुपर्छ । यो बहुमतप्राप्त सरकारले जनताद्वारा निर्मित प्रतिनिधिसभा भङ्ग गर्न हुदैन्थ्यो । किनभने छँदाखाँदाको संसद् विघटन गरेर चुनावमा जानु भनेको देशलाई आर्थिक भार बोकाउनु हो । सरकार जनताप्रति उत्तरदायी हुन जरुरी छ ।

देश कोरोनाले ग्रसित भएको अवस्था छ । नेपाली जनता कसरी आफ्नो जीविकोपार्जन गर्ने भन्ने चिन्तामा छन् । सरकार यस्तो अवस्थामा अर्बौं रुपियाँ खर्च गरेर चुनाव गर्ने तयारीमा छ । लोकतान्त्रिक पद्धतिअनुसार चुनावबाट दलहरू भाग्नु पनि हुँदैन । अहिलेको स्थिति हेर्दा चुनावको बातवरण अझै बनेको छैन । सर्वोच्चले संसद् पुनस्र्थापना गरिदियो भने त्यो नै राम्रो । यदि निर्वाचनमै जानुपरे दलहरू तयार हुनुपर्छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित भए पनि कानुनीरुपमा फुटेको छैन । त्यसैले नेकपा सत्ता स्वार्थकै लागि मात्र फुटेको देखिन्छ । आमनिर्वाचनमा जनताले नेकपालाई झन्डै दुई तिहाइको बहुमत दिएका थिए । यस अवस्थामा ओलीले प्रतिनिधिसभा विघटन गरेर जनतालाई विश्वासघात गर्नु हुदैन्थ्यो ।

यतिबेला ओली समूह एकातिर, प्रचण्ड–माधव समूह अर्कातिर फर्किएर आपसमै आरोप-प्रत्यारोप गरिरहेका छन् । यति बेला नेपालको राजनीतिक अवस्था अस्थिर छ । त्यसैले भारत, चीन, अमेरिकाजस्ता राष्ट्रले आफू अनुकूल राजनीतिक वातावरण बनाउन सक्रिय रहेको देखिन्छ । युवापुस्ताहरूको राजनीतिप्रति नै वितृष्णा पलाएको छ । राजनीति भनेको देश र जनताको हक-अधिकारका लागि हुनुपर्छ । तर, देशमा नेताहरूले सत्तास्वार्थको लागि मात्र राजनीति गरे ।

जसको कारण राजनीति फोहोरी खेलमा परिणत भयो । राजनीतिमा मौलाएको विकृति, विसङ्गति लाई नहटाएसम्म देश बनाउन सकिदैन । आम-युवापुस्तालाई राजनीतिप्रति उत्साह जगाउन पुराना पुस्ताका नेताहरूमा सुधार आउन जरुरी छ । अहिले नेपाली जनता अन्यौलमा छन् । नेताहरूले जति चर्का कुरा गरेपनि मुलुक बन्न सकिरहेको छैन । त्यसैले अब युवापुस्तालाई सत्ता सञ्चालन गर्ने अवसर दिनुपर्छ । देशमा भ्रष्टाचार बढिरहेको छ । जबसम्म देशमा निस्वार्थ भावनाका नेता तथा कर्मचारी हुदैनन् तबसम्म देशमा भ्रष्टाचारको अन्त्य हुँदैन । अब देशलाई दुरदर्शी र विकासप्रेमी नेताको आवश्यकता छ ।

यसमा तपाइको मत

अन्य समाचार