झगडाको राजनीतिले मुलुक पछाडि

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
माघ २७ ।

प्रतिनिधिसभा विघटन पछि उत्पन्न राजनीतिक सङ्कट गहिरिदो छ । अहिले दलहरू आआफ्ना शक्ति प्रदर्शनमा लागिरहेका छन् । यो विघटनलाई राजनीतिक दुर्घटना मानिन्छ । नेपालको कम्युनिष्ट आन्दोलनमा टुट्ने फुट्ने फेरि जुट्ने कुरा कुनै नौलो कुरा होइन । लेन देनको कुरा मिले नेकपा फेरि मिल्न सक्छ । निर्वाचन आयोगको निर्णयले भने कानुनी रूपमा नेकपा दल एउटै रहेको बताएको छ । पछिल्लो समय नेकपाका दुई खेमाबीच एक अर्का माथि अगालीगलौज चलेको छ ।

यस्तो संस्कार र शैलीले राम्रो पाठ सिकाउँदैन । एउटा उच्च शीर्षस्थ नेताले अरू नेताहरूमाथि अराजक अश्लील शब्द प्रयोग गर्नु राम्रो कुरा होइन । विगतमा पनि यस्तै राजनीतिक किचलो भई शत्रुतापूर्ण अवस्थामा पुगेका राजनीतिक दलबीच पुनः कार्यगत एकता र, एकीकरण भएका उदाहरण थुप्रै छन् । अहिले नेकपाका दुवै समूहलाई पार्टीको झन्डा चुनाव चिह्न र पार्टीको नाम त्यही चाहिएको छ । झगडाको राजनीतिले मुलुक पछाडि परेको छ ।

नेकपाका दुवै खेमा मिलेर जादा मुलुकको हितमा हुन्छ । मुलुकको हितका लागी नेकपा मिल्नुपर्छ । नेकपा नमिलेसम्म देशमा सङ्कट समाधान नहुने सङ्केत देखियो । अहिले आत्मनिर्भरता, विकास र समृद्धिका कुरा ओझेलमा परेका छन् । रोजगारीका अवसर गुमेका छन् । समाजवाद उन्मुख अर्थतन्त्र सङ्कटमा छ । त्यसका आधारशिला खडा गर्ने काममा चुनौती देखिएको छ । कोरना भाइरसको माहामारीले बितेको वर्ष मानवजातिलाई त्रासमा जिउन बाध्य बनायो ।

अहिले कोभिड-१९ विरुद्ध खोप प्रयोगमा आएको कुराले केही सन्तोष मिलेको जस्तो देखिन्छ । तर, यसले भाइरसलाई पूर्ण रूपमा निस्तेज र निष्कृय बनाउँछ भन्ने कुरामा अझै विश्वस्त हुन सक्ने अवस्था भने छैन । लोकतन्त्र प्राप्तिपछि जनताका अपेक्षाहरू पूरा भएका छैनन । जनता असन्तुष्टि छन् । देशमा सिर्जनात्मकभन्दा ध्वंशात्मक प्रवृत्ति हावी हुँदै गएको छ ।

यसले देशलाई गलत बाटोतर्फ लाने हो की भन्र्ने चिन्ता बढाएको छ । अब यस कुरामा सबैले ध्यान दिनुपर्ने जरुरी देखिएको छ । यदि समयमा नै उत्पन्न समस्या समाधान गर्न सकिएन भने देशको भविश्य अन्धकारमा फस्ने निश्चित छ । देशको गतिशीलतालाई रोक्ने पवृति हावी हुँदै छ । अब उत्पन्न यावत समस्याहरू समाधान नभएमा यसले ठूलो विकृति, विखण्डन र सामाजिक सद्भावमा विग्रह ल्याउने सम्भावना देखिन्छ ।

अब दलहरूले आफ्नो दलभित्रको अन्तरविरोध वा द्वन्द्वलाई कुशलतापूर्वक व्यवस्थापन गर्न सक्नुपर्छ । राजनीतिक नेतृत्व निजी गुटगत वा निश्चित समुहको हितमा लाग्दा देशको भविस्य बर्बाद हुँदैछ । यस अवस्थाले मुलुक प्रतिगमनतिर जाने खतरा आउन सक्छ ।

यस्तो अवस्थामा सबै दलहरू जिम्मेवार हुनुपर्छ । अब नेकपाका दुवै खेमाका नेताहरू देश र जनताको हितमा सशक्त भूमिका खेल्नुपर्ने आबश्यकता देखिएको छ । प्रतिपक्ष नेपाली कांग्रेस पनि गम्भिर हुनुपर्ने देखिएको छ । दलहरू आन्तरिक कलहमा अल्झिदा देश सङ्कटमा परेको हो ।

यसमा तपाइको मत

अन्य समाचार