आजको मौसम: प्रदेश १ र गण्डकीको उच्च पहाड र हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं,
माघ १७ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको र देशका केही पहाडी भू-भागहरूको मौसममा आंशिक बदली भएको उल्लेख गरेको छ । त्यस्तै तराईका केही भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

काठमाडौंको आजको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको काठमाडौंको तापक्रम २.७ डिग्री सेल्सियस मापन गरिएको हो ।

आज दिउँसो प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने सम्भावना छ । यस्तै प्रदेश नं. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी आज राती प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहने र देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने साथै प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार