कोरोना विरूद्धको खोपले जगाएको आशा

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
माघ १७ ।

गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट नेपाल पनि अछुतो रहन सकेन । जब नेपालमा कोरोना भाइरस भित्रियो तब यसको असर नेपाली जनताको जनजीवनमा पर्‍यो । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले देशव्यापी लकडाउन गर्न बाध्य भयो । लामो समय सम्मको लकडाउनले पनि पूर्ण रुपमा कोरोना नियन्त्रणमा आउन सकेको थिएन । लामो समय सम्मको लकडाउनले देशको अर्थतन्त्रमा अहिले सम्म प्रभाव परिरहेको छ । धेरैको रोजगारी गुमेको छ ।

अहिलेसम्म पनि शैक्षिक संस्था निर्धक्क रुपमा सञ्चालनमा आउन सकेका छैनन् । समग्र रुपमा भन्नुपर्दा सबै क्षेत्रमा यसको प्रभाव परेको छ । देशमा कोरोना पूर्ण रुपमा नियन्त्रणमा नआउँदै सरकारले देशको अर्थतन्त्र चलायमान बनाउन र जनजीवन सहज बनाउनको लागि सुरक्षाका उपाय अपनाई आफ्नो सुरक्षा आफैँ गर्नु भन्दै लकडाउन खुकुलो बनाएको हो । यो अवधिसम्म आइपुग्दा कोरोना भाइरसका कारण कैयौं मानिसले ज्यान गुमाउनु पर्‍यो भने धेरै मानिसले कोरोना विरुद्ध जित हासिल गरे ।

कोरोना विरुद्धको खोप नआएसम्म कोरोना नियन्त्रणमा आउन सक्दैन भन्ने कुरा विश्वका मानव जातिले अनुमान गरेका थिए । निरन्तर रुपमा विश्वका वैज्ञानिकहरूले खोप पहिचान गर्न लागिपरे र कोरोना भाइरसविरुद्धको खोप लगाउन योग्य बनाए । अहिले कोरोना विरुद्धको खोप विश्वसामु वितरण गर्ने क्रम बढेको छ । त्यसैगरी हाम्रो देश नेपालले पनि छिमेकी मुलुक भारतको सहयोगमा कोरोना विरुद्धको १० लाख डोज खोप प्राप्त गरेको छ । यो नै हामी सबै नेपालीको लागि खुसीको कुरा हो ।

यसका लागि हामीले छिमेकी देश भारत लाई धन्यवाद दिनुपर्छ । नेपालजस्तो गरिब मुलुकमा सोचे भन्दा छिटो कोरोना विरुद्धको खोप भित्रिनु भनेको निकै प्रशंसनीय काम हो । कोरोनाविरुद्धको यो नयाँ खालको खोप हो । यो खोप लगाएपपछि के होला भन्ने जिज्ञासा हुनु स्वाभाविकै हो । त्यसकारण खोप लगाउनु अघि स्वास्थ्य मन्त्रालयले आम जिज्ञाशाका १६ प्रश्न सहितको जवाफ तयार पारेर सञ्चारमाध्यममा विज्ञापनका रूपमा प्रकाशित गराएको छ । यो पनि आम मानिसमा जनचेतना जगाउने सरकारको प्रशंसनीय कार्य हो ।

यसमा तपाइको मत

अन्य समाचार