भारतमा विविध कार्यक्रमबीच ७२औं गणतन्त्र दिवस मनाइँदै

नयाँ दिल्ली
माघ १३ ।

भारतले आज ७२औं गणतन्त्र दिवस मनाउँदैछ । दिवसका अवसरमा राजधानी दिल्लीको राजपथमा परेडको आयोजना गरिंदैछ ।

विगतमा भव्य परेड आयोजना गर्ने गरिएकोमा कोरोनाका कारण यसपटक आकार घटाइएको छ । त्यस्तै, यसपटक २५ हजार मानिस मात्र समारोहमा सहभागी हुनेछन् भने १५ वर्षभन्दा कम उमेरका र ज्येष्ठ नागरिकलाई प्रवेश दिइएको छैन ।

गणतन्त्र दिवसको तयारी हुँदै गर्दा भारतभर सुरक्षा व्यवस्था कडा बनाइएको छ । गणतन्त्र दिवसको अवसरमा भारतीय सेनाको सैनिक परेड र सांस्कृतिक झलक प्रदर्शन गरिँदैछ । सो क्रममा पहिलोपटक भारतीय सेनाले राफेल लडाकू विमानका साथ टी–९० ट्याङ्क, समविजय इलेक्ट्रोनिक युद्धक प्रणाली, सुखोई–३० एमके आई लडाकु विमान समेत प्रदर्शन गर्ने जनाइएको छ ।

सोमबार भारतीय रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार गणतन्त्र दिवसको अवसरमा आयोजित परेडमा १७ वटा राज्य र केन्द्र शासित प्रदेशहरुका झाँकी, ६ वटा रक्षा मन्त्रालयका झाँकी, केन्द्रीय मन्त्रालय र अर्धसैनिक बलका झाँकीसहित ३२ वटा झाँकी देशका समृद्ध सांस्कृति धरोहर, आर्थिक उन्नती र सैन्य ताकत झल्काउने गरी प्रदर्शन गरिनेछ ।

त्यस्तै गणतन्त्र दिवसका अवसरमा दिइने पद्म विभूषणबाट जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आवे लगायत सम्मानित हुनुहुने भएको छ । उक्त पुरस्कारबाट आबे र भारतकै दिवंगत गायक एसपी बालासुब्रमण्यमसहित सात जना सम्मानित हुन लाग्नु भएको छ । त्यस्तै १० जनालाई पद्म भूषण अवार्ड समेत वितरण गरिँदैछ ।

पद्म विभूषण पाउनेहरूमा जापानका पूर्वप्रधानमन्त्री आबे, तमिलनाडुका दिवंगत गायक बालासुब्रमण्यम, तमिलनाडुकै चिकित्सक डा. बेल्ले मोनप्पा हेगडे, अमेरिकाका नरिंदरसिह कपानी लगायत रहनुभएको छ ।

स्वतन्त्रता दिवसको परेडमा कुनै बाधा नपुगोस भन्दै सुरक्षा ब्यवस्था कडा पारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार