राजनीतिक वितृष्णाले उब्जाएको परिस्थिति

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
पुस २९ ।

यतिबेला नेपालको राजनीतिमा केही अन्योलता देखिएको छ । अहिले देशका विभिन्न ठाउँमा दैनिकजसो जुलुस, सभा र सम्मेलन भइरहेका छन् । आगामी वैशाखमा मध्यावधि निर्वाचनको घोषणा त भएको छ । तर, निर्वाचन हुने वा संसद पुनःस्थापना हुने भन्ने विषयमा बहस चलिरहेको छ । प्रतिनिधिसभा पुनः स्थापनासम्बन्धी परेको रिटमा सर्वोच्चको फैसलापछि मुलुकले निकास पाउने देखिन्छ ।

हालको राजनीतिक परिस्थितिका कारण आम नागरिकमा राजनीति प्रति वितृष्णा उत्पन्न भएको छ । राजनीतिप्रति वितृष्णा पैदा भइरहेको अवस्थामा कर्मचारीतन्त्रले आम नागरिकमा आशा जगाउने खालका काम गर्न सक्नुपर्छ । कर्मचारी संयन्त्रलाई स्थायी सरकारको रूपमा लिने गरिएको छ ।

नेपालको प्रशासनसंयन्त्रले आम नागरिकलाई बिना झन्झट प्रभावकारी सेवा प्रवाह दिन सक्नु पर्छ । तर, अहिलेको चुनौतीपूर्ण अवस्थामा प्रशासनसंयन्त्र आ–आफ्नो स्वार्थ भन्दा माथि उठ्न सक्नुपर्छ । कर्मचारीले कामचोर प्रवृत्ति त्याग्नुपर्छ । हाल देशको संक्रमणकालिन राजनीतिक अवस्थाको फाइदा उठाउँदै कर्मचारीहरू भ्रष्टाचारमा लिप्त हुन सक्ने सम्भावना बढेर गएको छ । व्यापारिक क्षेत्रबाट राजस्व छली गर्ने काम हुनसक्ने सम्भावना छ । राजस्वका कर्मचारीहरूले त्यसलाई रोक्न विशेष ध्यान दिनुपर्छ ।

अहिले राजनीतिक नेतृत्वमा देखिएको सत्ता स्वार्थका कारण राजनीतिक सङ्कट चुलिदो अवस्थामा पुगेको छ । सत्ता स्वार्थका कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमा पनि गम्भीर समस्या उत्पन्न भएको छ । यस्तो अवस्थामा संघ, प्रदेश र स्थानीय तहका कर्मचारी संयन्त्रले जिम्मेवारी पूर्वक काम गर्न सक्नुपर्छ ।

सरकारले ल्याएको नीति योजना तथा कार्यक्रमको कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीकै हो । राजनीतिक नेतृत्व प्रति वितृष्णा जागिरहेको अवस्थामा प्रशासनले इमानदारितापूर्वक जनताको मन जित्न सक्नुपर्छ । यस्तो सङ्कटको अवस्थामा कर्मचारीतन्त्रले आफूहरू शासक नभएर देशको सेवक हो भन्ने भावनालाई आत्मसात गर्न सक्नुपर्छ ।

यसमा तपाइको मत

अन्य समाचार