काठमाडौं,
पुस २८ ।
चलचित्र निर्देशक तुलसी घिमीरेलाई सलाई डेस्टिनीले दोस्रो पटक आफ्नो कम्पनीको ब्राण्ड एम्बेस्डरका रुपमा नियुक्त गरेको छ । सलाई डेस्टिनीका अध्यक्ष मनोज सिनालले सोमबार राजधानीमा सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारण सभामा निर्देशक घिमिरेलाई पुनः ब्राण्ड एम्बेस्डर चयन गरिएको जानकारी दिनुभएको हो । सन् २०१८ मा स्थापना भएको सलाई डेस्टिनीले सूनचाँदीको दैनिक दरभाउ जनाउने डिजिटल बोर्ड तथा सफ्टवेयर निर्माण गर्ने गरेको छ ।
नेपाल सूनचाँदी व्यवसायी महासंघको सहकार्यमा नेपालका करिब सबै जिल्लाका सूनचादी पसलमा सलाइ डेस्टिनीले निर्माण गरेको बोर्ड लाग्ने गरेको छ । साधारण सभामा सलाई डेस्टिनीका अध्यक्ष सिनालले आफ्नो कम्पनीले बहुराष्ट्रिय कम्पनी सलाइ होल्डिङ्स (भारत)सँग सहकार्य गरेको बताउदै निकट भबिष्यमै सुरक्षण सूचक यन्त्र, सुन, चाँदी र हिरा जोख्ने तराजु, पैसा गन्ने मेसिन, मिनी सोलास सिस्टम, ज्वेलरी प्याकिङ बक्सलगायतका उत्पादन बजारमा ल्याउन लागेको जानकारी दिनुभयो । सलाई डेस्टिनीकी मार्केटिङग तथा सेल्स इन्चार्ज पवित्रा खड्का, महेन्द्र खनाललगायतले कम्पनीको आर्थिक अवस्था र प्रगतिको बारेमा बोल्नुभएको थियो ।
ब्राण्ड एम्बेस्डर, निर्देशक घिमिरेले सलाइ डेस्टिनीले छोटो समयमै निकै राम्रो प्रगति गरेको सुनाउदै यो कम्पनीसँग सहकार्य गर्न पाउदा खुशी लागेको बताउनुभयो । कार्यक्रममा नेपाल सूनचाँदी ब्याबसायी महासंघका नवनियुक्त अध्यक्ष मणिकरत्न शाक्य, पूर्वअध्यक्ष मणिरत्न शाक्य, बागमति प्रदेश सभापति ज्योतिरत्न बज्राचार्य, नेपाल कपडा तथा सिलाई ब्याबसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, बरिष्ठ अधिबक्ता तथा कम्पनीका सल्लाहकार दिनेश त्रिपाठीलगायतले कम्पनी र सञ्चालकलाई अझ धेरै प्रगतिको कामना ब्यक्त गर्नुभएको थियो ।






