काठमाडौं,
पुस २३ ।
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर छोटो चलचित्र ‘सहारा’ सार्वजनिक भएको छ । कोरोना भाइरस (कोभिड-१९)को महामारीका समयमा चलचित्रका गतिबिधिहरू ठप्प भइरहेका बेला बेलायतमा निर्माण गरिएको छोटो चलचित्र सहारमा कोरोनाका कारण विश्वभरी देखिएका विभिन्न समस्या, बेरोजगारी र सम्बन्धमा परेको असरलाई मुख्य विषय बनाइएको छ । सहारामा कलाकार ध्रुव दत्त, सृजना निङ्गलेकु र पुरु राईको अभिनय छ ।
https://www.youtube.com/watch?v=AFnlCo5GBTI
नायक धु्रव दत्त, मोडल सृजना निङ्गलेकु बेलायती समुदायमा स्थापित नाम हो । चलचित्र सहारामा लेखन, निर्देशन पुरु राईको रहेको छ । कोरोना भाइरसका कारण बढेको बेरोजगारी र बेरोजगारीका कारण एक युवा जोडीमा उत्पन्न भएका विभिन्न सम्स्याको वियोगान्त कथा चलचित्रमा देखाउन खोजिएको निर्देशक राईले बताए ।
निर्देशक राईले निर्देशन गरेको यो दोस्रो छोटो चलचित्र हो । उनले यसअघि ‘सम्बन्ध’ निर्देशन गरेका थिए । चलचित्र ‘सहारा’मा छांयाकन, सम्पादन कुशल श्रेष्ठ, स्वर सङ्गीत आशिष राज, ब्याकग्राउण्ड म्युजिक र कलर नवीन निरौलाको छ । टुवाईको ब्यानरमा निर्माण भएको ‘सहारा’ अभिनेत्री सृजना निङ्गलेकुको युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






