काठमाडौं,
मंसिर ३० ।
ड्रिम्स इन्टरटेन्मैन्ट प्रा.लि. र मृगतृष्णा फेशन हाउसको संयुक्त आयोजना तथा ओसिस व्यूटी स्पा प्रा.लि. को संयोजनमा ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२० हुने भएको छ । प्लस साईज तथा आफ्नो शारिरीक मोटोपनका कारण आफूमा यथेष्ट प्रतिभा भएर पनि प्रस्फुटन गर्न असमर्थ भएका बिवाहित तथा अबिवाहित महिलाहरूका लागी ड्रिम्स ईन्टरटेनमेन्ट तथा मृगतृष्णा फेशन हाउसको संयुक्त आयोजनामा यो प्रतियोगिता हुन लागेको हो ।
मोटोपनका कारण समाजमा क्षमताका बावजुद अवसरबाट वञ्चित ईच्छुक महिलाहरूका लागी प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमतालाइ अभिवृद्धि गरी लुकेका प्रतिभा प्रस्फुटन गराउन यस कार्यक्रमको उद्देश्य रहेको आयोजक तथा प्लस साईज मोडल तथा मिस स्माईल टप अफ द वर्लड प्लस साईज २०१८ सपना राईले जानकारी दिईन ।
प्रतियोगीतामा सहभागी हुन ईच्छुकले १६ वर्षदेखि ४५ वर्षको उमेर, शारिरिक तौल ५० केजीभन्दा माथिको हुनुपर्नेछ भने उचाईको कुनै सीमा तोकिएको छैन । ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२० को अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीलाई तयारी कक्षामा नेपालको पहिलो प्लस साइज मोडल, विश्व सुन्दरी २०१८ का सपना राईले अन्तर्राष्ट्रियस्तरको मोडलिङ क्लासको प्रशिक्षण दिनेछिन भने अन्य बिभिन्न ट्रेनिङ मेकअप क्लास, सेल्फ कन्फिडेन्स बुल्डअप, डेभ्लपमेन्ट स्किल्स, फिजिकल फिट्नेस, मास इन्टराक्सन एण्ड फेसिङ्ग, फेशन ड्रेशिङ क्लास, फोटोशुटलगायतका ट्रेनिङ भने नेपालकै ख्याति प्राप्त कलाकार तथा व्यक्तीले गराउने आयोजक तथा मृगतृष्णा फेशन हाउसकी प्रमुख फेशन डिजाईनर तृष्णा गुरुङले बताईन ।
विजेताले एक लाख रुपैयाँ नगद, फर्ष्ट रनरअपले ३५ हजार र सेकेण्ड रनरअपले १५ हजार प्राप्त गर्नेछन भने विजेताले मिस एण्ड मिसेस विश्व सुन्दरी प्लस साईज, मिस एण्ड मिसेस युनिभर्स प्लस साईज र मिस एण्ड मिसेस कर्भी वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउन पाउने ओसिस स्पाकी सञ्चालक तथा कार्यक्रम निर्देशक सुशिला थापाले जानकारी दिईन ।
यही पौषको पहिलो हप्तादेखि काठमाडौंमा शुरु हुने भनिएको अडिसनमा भाग लिन चाहनेका लागी काठमाडौंको मृगतृष्णा फेशन हाउस लाजिमपाट, ड्रिम्स इन्टरटेन्मैन्ट प्रा.लि. बागबजार, तेजस्वी कला केन्द्र एण्ड मिडिया नयाँबजार, कीर्तिपुर र ओसिस ब्युटी स्पा प्रा.लि. लाजिमपाट सम्र्पक स्थान रहेका छन् ।






