✍️ धुव्र लोहागन
सिक्किम
मंंसिर २८ ।
तिमी मगमग वासनायुक्त फूल हौ
मलाई भन्ने नगर
फूलसित मलाई तुलना गर्ने नगर
तिमी त्यसरी भ्रममा नपर ।
सुन्दरता र सुगन्ध फिजाई
मोहित बनाई झरिजाने फूल होइन म
कसैले चुडीलाने, भुइँमा झर्ने भूल होइन म
फूलको साथी बिझाउने त्यो शूल पनि होइन म ।
फूलमा मदहोश वासना छ
रंगीबिरंगी रंगहरू छ आकर्षण छ
तर म सित स्नेह छ, माया छ, ममता छ
मुटुभित्र संसार अटाउने क्षमता छ
यसैले मलाई फूलसित तुलना गर्ने भूल नगर
फूल जस्तै राम्री छौ भन्ने नगर ।
समवेदनाहीन फूल होइन म
विचार शुन्य सुन्दरताको धनी होइन म
भोग्य वस्तु र फूलदानी को फूल होइन म
समवेदनशील ममतामयी नारी हुँ म
आमा हुँ म, स्त्री हुँ म, चेली हुँ म
पहाड़, कन्दरा सजाउने नागबेली हुँ म ।
तिमीलाई मनपराउने मेरो चोखो मन छ
तिम्रो जीवन सहरा बन्ने मेरो तन छ
तिमीलाई मायाले हेर्ने दुइ आँखा छन्
तिम्रो ढुकढुकीको तालमा गाइने मेरा आफ्नै भाकाहरु छन् ।
म सित तिमी तिर्खाउदा पिलाउने मायाको झरना छ
म सित पनि तृष्णा छ, रहर छ, चाहना छ
तिमीलाई सताउने अनेकौं बहाना छ
दया छ, माया छ, सदभावना छ
सहानुभूति छ, समवेदनशीलता छ ,शालीनता छ ।
त्यसैले फूल जस्तो सुन्दरी छौ
मलाई भन्ने नगर
फूल सित मलाई तुलना गर्ने नगर
तिमी फूल हौ भन्ने भूल नग र।






