✍️ धुव्र लोहागन
सिक्किम,
मंसिर १४ ।
मलाई लाग्छ आजको मेरो कविता मेरा मित्रहरुले त्यति मनपराउने छैनन् शीर्षक नै छ ‘मलामी’ एउटा अप्रिय शब्द अनि धेरै लामो पनि छ । तर, म विश्वस्त छु पढनु भयो भने अन्तिम लाइनसम्म पढेर नै छाडनुहुनेछ अनि मन नपरे पनि एक लाइक नठोकी चित्त नै बुझने छैन ।
जीवनलाई जीवन जस्तै जिउनु पर्छ, जीवन हासेर, रमाएर नै बिताउनु पर्छ अनि मात्र जीवन सार्थक बन्दछ । आजको आईतबार रमाईलो बनोस् मेरो शुभकामना ।
‘मलामी’
मृतदेहलाई अन्तिम विदा दिने
एउटा लस्करमा परिणत हुने
मान्छेको जमघट – मलामी ।
यस अशुभ मुहूर्तमा
बिरमाइलो शंखको चिच्चाहटसितै
पगलिन्छ मन जमघटका मान्छेको ।
संसारिक लोकोचारको पालन गर्दै
सामाजिक प्राणिको कर्तव्यको निर्वाह गर्दै
मलामीमा परिणत भएर हिडछन मान्छेहरू
लाशलाई काँध लाएर मान्छेको अन्तिम गन्तब्यतिर ।
हिड्दैछन, हिडिरहेकाछन हातमा बोकेका
सिनकेधूपको निस्ससाउने धुँवासित झर्को मान्दै,
यसै क्रममा मलामिहरुबिच वार्तालाप शुरू हुन्छ
गफ्फिनदै हिड्दैछन कोही जोक्स पनि सुनाउछँन
कोही हाँसछन , कोही हैंसाउछन त्यों लस्करमा ।
कोही नियास्रो बनेका अभिनय पनि गरीरहेकाछन,
समवेदना , सहिष्णुता , कोमलता र तरलता बिर्सिएका
ज्यूँदा मान्छेहरु पुग्छन श्मसानघाटमा
एउटा सिंगो अनि पूर्ण तर प्राणहीन मान्छेलाई
खरानीमा परिणत गर्न, मट्टीमा मिलाउन ।
हिजसम्म हाँसिरहेको मान्छे आज निश्चल लाश,
एउटा निष्प्राण मान्छेलाई जब आगोले टिप्छ
फेरि एकपल्ट मलामिहरुका मुहारमा अनायसै
पीर, सन्ताप, व्यथा र वेदनाका रेखाहरू कोरिन्छन ।
चितामा मट्टी दिएपछि पुनः मान्छेहरू
कोही भावुक बन्छन, कोही कोमल अनि दार्शनिक पनि
कोही द्रवित, कोही सम्वेदनशील पनि
अनि जिन्दगीलाई परिभाषित गर्छन् आ–आफ्नो दृष्टिकोणमा यसरी–
. एक मुट्ठी खरानी हो जिन्दगी ।
. शून्यको शुरुआत शून्यको अन्त शून्यता हो जिन्दगी ।
. सपना हो जिंदगी ।
. सिमलको भुँवा हो जिन्दगी ।
. रहस्यमय छ यो जिन्दगी ।
. थुक्क ! टुङ्गो न फेदको यो जिन्दगी ।
. अस्तित्वहीन यो जिन्दगी ।
. मानेको पातको शीतको थोपा हो जिन्दगी ।
. हाँवाको झोंका हो जिन्दगी ।
. धोका हो जिन्दगी ।
. पट्ट फूटने पानीको फोंका हो जिन्दगी ।
. झरेको पात हो जिन्दगी ।
. औंसीको कालो रात हो जिन्दगी ।
. माटो हो जिन्दगी , खरानी हो जिन्दगी ।
विभिन्न मानिसहरुका विभिन्न विचारहरु सुनिरहेका एक वृद्ध निधारको पसिना पुछदै भन्छन्–
लोभ–लालच, रीस–राग र अत्याचार
कुकर्म, वैरीभाव, आरिस र व्यभिचार
नगर्नु है नानी हो, यो अधर्म हो ।
प्रेम, सेवा, सदभावना, सदविचार धर्मं हो ।
अर्का एकजना व्यापारी मलामी बोलछन-
यो क्षणीक जिन्दगीमा लोभ लालच गर्नु व्यर्थ छ,
यो तेरो र मेरो भन्ने स्वार्थ त्याग्नु पर्छ,
धन–सम्पतिको पनि के नै पो अर्थ छ !
एकजना कवि मलामी भावुक बनेर केही गमछन
अनि एक पंक्ति सुनाउछन-
जिन्दगी हो बग्ने खोला कसैलाई परखिन्दैन,
मानिसको मरने चोला फेरि कहिले फर्किन्दैन ।
एकजना राजनीतज्ञ नियास्रो बन्दै कुरा थपछन-
हो नि, घमण्ड गर्नु व्यर्थ छ
धनको, रूपको, गाडीको, बिल्डिंग र ताकतको,
कुर्सीको, क्षमताको, ब्याकिंगको र ल्याकतको,
यमराजको अघि कसैको सिफारिस र ब्याकिंग चल्दैन,
नोटको बीटा, सुन-चाँदी, ताकतको दाल गल्दैन ।
एकजना उच्च अधिकारी मलामी भयमिस्रित स्वरमा यसो भन्छन्-
सानोलाई दलनु, ठूलाको अघि हात मोल्नु
भ्रष्टचारको धनको तुजुक देखाउनु
गरीबको सेक्पा सुकाउनु
क्षमताको दुरुपयोगगरि छाती फुकाउनु
व्यर्थ छ यो क्षणभङ्गुर जीवनमा ।
मलामी आउँदा पनि सुट र टाई लगाएका एकजना भलादमी बोलछन्-
‘लाइफ इज लाईक अ क्लाउड वीच एप्पियर्स ह्यपाज़र्डली एण्ड डिसएप्पीयर्स सड्डेनली ।’
जलिरहेको मरेको मान्छेको चितामा
मट्टी दिएर फर्किएपछि
जलिरहेको आगो छोएर
तितेपातीले पानी शिर अनि शरीरमा छरकिएपछि
जलिरहेको मृतकको आत्माले तरसाउदैन भन्ने
निश्चिन्त भएपछि
माथि सडकमा उक्लिएपछि
मलामीहरू मान्छेमा परिणत हुन्छन्
अनि फरकन्छन मान्छेका मनहरू,
मनोस्थिति, चाहना र भावनाहरू
यथास्थिमा, पुरानो स्तिथिमा,
पुनः त्यही लोभ-लालच, तैछाड र मैछाडको
आडम्बरी संसारमा ,
मायाको बन्धन, मायाको डोरीले बाधेको
मायाजालको भवसागरमा ।
त्यों छताछुल्ल लश्करबाट छुट्टिएपछि एकजना व्यक्ति पुग्छन आफ्नो आलिशान भवनमा
बस्छन आरामदायी
सोफामा अनि फेर्छन सन्तुष्टिको श्वास
यो सम्पति , परिवार स्थायी हो उसको विश्वास ।
बिर्सनछन उ पनि एकदिन यो घर छोडेर
जानुछ एक्लै त्यही श्मसानघाट
जानेछैन सम्पति र परिवार उसको साथ ,
रहनेछन केवल प्रेम, सत्कर्म र सदविचार ।
उ पनि हराउनुछ, बिलाउनुछ शुन्यतामा एकदिन
बिरसनुछ आफैँलाई पनि, अवश्य आउनेछ त्यों दिन ।
अनि मलाई यसो भनिदिन मनलाग्छ-
स्वांस चलिरहे पनि जिन्दगी अविश्वास,
बिलाएर जानुपर्ने भएपनि मृत्यु नै विश्वास ।।






