आमा जननी र सृष्टि

✍️ हेमराज अधिकारी/तुमिन, पूर्व सिक्किम
मंसिर ११ ।

सबै आफ्नो सेवा र कार्यबाट सेवा निवृत्त हुन्छन् तर आमा हुदिनन् । आमा कहिल्यै रिटायर हुदिनन् । सन्तानको समग्र भलो चिताउनमै यिनको आयु जान्छ । सबैको सरकारी विदा हुन्छ, आइतबारे छुट्टी हुन्छ तर आमाको आइतबार सरकारी विदा कहिल्यै हुँदैन । छोराछोरी हुर्के बढेर के गर्नु आमाले नातिनातिनालाई न्यानो काखमा राखेर ‘को खाइ को खाइ नानी हाम्म्’ भनिरहेकी हुन्छिन् । यिन्ले कहिल्यै आफ्नो बिमार, आफ्नो दुःख कष्ट कसैलाई साझा गराउदिनन् । यिनको जन्म सन्तानको भरण पोसणमै बितेको हुन्छ । आमा नभएको घर कस्तो होला, कल्पना गर्न सकिन्न । यिनि सृष्टि हुन् ।

यिनले समस्त छोराछोरी नातिनातिना ज्वाई चेलालगायतको स्वास्थ्यको ख्याल गर्छिन् । सदैव चिन्तित रहन्छिन् । भगवानको पूजा पाठ गर्न आफैँ पुग्छिन् । भगवानलाई पुकारी रहेकी हुन्छिन् कि ‘जति विघ्न वाधा छ मलाई दिनु तर मेरो घर परिवारलाई सुख शान्तिमा राखिदिनु’ भनेर । यिनि जननी हुन । यिनको करुणामय पुकार, चित्कार देखेर सत्यवानको प्राँण फर्काउन विवश भएका छन् यमराज । सावित्रीको अमर कथा दुनियाँलाई थाहा छ । चौध बर्ष वनबासबाट अयोध्या फर्केका मार्यदा पुरुषोतम् श्रीरामले पनि जन्मदिने आमा र पृथ्वीलाई समान दर्जा दिएका छन् । ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी ।’ यस्ती स्वयम् चन्द्रमा जस्तै तेज भएकी, ममताको आकाश ओढेकी, समुन्द्र जस्तै बिशाल हृद्वय धारण गरेकी, फूल जस्तै पवित्रता कोमल आमालाई आफ्ना सन्तानले कुन हृद्वयले बृद्धअबस्थामा वृद्ध आश्रम लैजान्छन् ।

कल्पनासमेत गर्न नसकिने बिषय हो । मेरो एकजना परम मित्र छन्, उनले अचम्म चकित हुने कुरा सुनाए । दुवै सम्धिनी भेट भएछन् वृद्ध आश्रममा । दुवै चकित भएछन् । कसले कसलाई के भन्ने ? ब्यबस्थापकले दुवैलाई समान कमरामा ओछ्यान लगाइदिए । न त छोरा बुहारीको इज्जत रह्यो, न त ज्वाई छोरीको ! हामी कुन समयमा जाँदैछौं ? हामी किन यति अस्तब्यस्त हुँदैछौं ? हामी पैसा कसको लागी कमाउदैछौं ? पैसाले मान्छेलाई माथि लैजाला तर मान्छेले पैसा माथि लान सक्दैन । सक्ने भए यो दुनियाँ कहाँ यस्तो मात्रै हुन्थ्यो होला र !

आमा सन्तानको निम्ति अनवरत मेसिन जस्तो आधा रातसम्म खटेकी हुन्छिन् । बिहानै हामी सपना देखिरहेको बेलामा तातो चिया लिएर हाम्रो ओछ्यानमा उभिएकी हुन्छिन् । ‘बाबु डिउटी ढिलो हुन्छ, तिम्रो स्कुल ढिलो हुन्छ छिटो उठ् अबेर हुन्छ अहिले तिम्रो गाडी छुट्छ ।’ हामी ओछ्यानमाहुँदै कुकरको सिटी बज्दै हुन्छ । होटेल जस्तो हामी तयार भएर खान बस्छौं, अझै यो मिठो भएन, त्यो भएन, हाम्री आमाको ढङ्गै छैन भनिरहेको हुन्छौं । गाइ-बाख्राको गोठमा आमानै पुगिरहेकी हुन्छिन् । लत्ताकपडा आमानै धोइरहेकी हुन्छिन् । सन्तानको वासिङ–मेसिन जस्तो भएर । स-साना नानीलाई कोरिबाटी चटेक–चिटीक सबै भ्याइनभ्याई गरेकी हुन्छिन् । नानी स्कुल लिएर झोला किताब टिफिन बोकेर आमानै गएकी हुन्छिन् । आमाले इक्जाम मात्र बस्दिनन् । अझै आज भन्दा पचास-साठी बर्ष अघिका आमाहरूलाई कस्तो आपत बिपत थियो होला ? पुरुष सँगसँगै बराबर काम गर्नु साधारण कुरा थिएन । तीस पाथी धान बोकेर काजी मञ्डलको घरमा लाठेसँगै पुग्नु कति असहाय बिषय थियो ? दाँइ गरेर परालको भारी बोकेर लेक र औल गर्नु कस्तो कष्टसाध्य थियो होला ? आधा रातदेखी उठेर बाछापाढा स्याहार्नु नानीलाई खुवाइ-पियाइ घरको रैमट्टो छिनेर मेलो पात गर्नु एउटा इतिहास हुन्छ आजकलका जेनेरेसनलाई । दन्ते कथा हुन जान्छ । लेकमा गोठदेखी औलको ब्याँसीसम्म ठेकीमा मोही बोकेर जीवन धान्ने आमाहरूको कथा सुन्नु जरुरी हुने हुन्छ । घर व्यबहारको सानो भन्दा सानो कुरा आमाको समझमा हुनेगर्छ । आमा एउटा परिवारको निम्ति ईश्वरको स्वरुप भएर आएकी हुन्छिन् । आमा परिवारको सीता सावित्री हुन् । आमा स्वयम् जगत जननी हुन् । आमा गङ्गा जस्तै निर्मल र पवित्र हुन परिवारको । आमाले एक नजरमा भन्न सक्छिन कि फलानोलाई टाउको दुखेको छ, यस्तो भएको छ उस्तो भएको छ । घर भित्रको सौदा-पातदेखि लिएर ठूलो भन्दा ठूलो कारोबारको हिसाब किताब आमाले राखेकी हुन्छिन् । आमाकै बाटोबाट परिवार सञ्चालन भएको हुन्छ । यिनी सरस्वतीकै अर्को रुप हुन् । आमा परिवारको मूल खाँबो हुन् । छोरीको रुप होस् या बुहारीको, आमा आमानै हुन्छिन् । आमाको स्थान दुनियाँमा कसैले पूरा गर्न सक्दैन । आमा माघको न्यानो घाम हुन् । आमा पुर्णिामाको जून हुन् । आमा बसन्त हुन् ।

आमाको न्यानो काखमा शक्ति हुन्छ । आमाको छात्तीमा ज्ञानको भक्ति हुन्छ । दसधारा अमृत पिलाएर सन्तानलाई अजम्बरी बनाउने आमाको सपना हुन्छ । यस्ता वीर भद्रकाली स्वरुप आमाहरूलाई बृद्धअबस्थामा वृद्ध आश्रम पठाउने छोराछोरीहरूलाई खोइ के भनौं ? तिमी जतिनै रुपैयाँ पैसा कमाउ तर तिम्रो गगन चुम्बी घरसमेत शम्शान घाट हो । मन्दिर बनाएर आडम्बरी पूजा नगर । तिम्रो आमाको आँसुले तिमीले हिड्ने पाइला–पाइला भिजेर चिप्लेर तिमी जीबनमा कहिल्यै उठ्न सक्ने छैनौं । उठ्ने कोशिस गरौला तर तिमी क्रमशः चिप्लिरहने छौ । चिप्लिरहने छौ । दुनियाँका सृष्टिकर्ता आमाहरूको जय जय होस् ।

यसमा तपाइको मत

अन्य समाचार