✍️ नवीन मनोहर
रामेछाप,
मंसिर ६ ।
यादका पहाडहरूमा
जतिसुकै चढे पनि
कहिल्यै नपुगिने रैछ इच्छाका भन्ज्याङ्हरू,
विना तारका बाडुलीहरूले
हरपल हरपल चिमोटीहरन्छन्
यी कोमल मनहरूलाई,
माहुरीलेझैँ कण कणमा मधु संकलन गरेर
उमेरका पोयाहरूमा बाटिँदै
अभावका सिकन्जाहरूमा साटिँदै
यो जिन्दगानी
टेप रेकर्डको फित्ताझैँ
बज्दै सकिँदै
सकिँदै बज्दै
गरिरहेछ,
यादहरू
जीवनभर आएर पनि
नसकिने सामल रहेछन्
मन, मुटु र मस्तिष्कमा
उम्रिरहने
बढिरहने
र फैलिरहने
जसरी
एउटा जाँगरिलो नदी
जीवन्त भएर बगिरहन्छ
जसरी
एकनाशले पवन मन्दमन्द मुस्तकानसाथ
आफ्नै ताल शूरले फैलिरहन्छ,
अब यादहरूको
पिरामिड बनाएर
त्यसको माथिबाट
आफूलाई मन परेको मान्छेलाई
चिहाउनु पर्ला ।






