थप २१ सय तीन जनामा कोरोना संक्रमण

काठमाडौं,
मंसिर ४ ।

बिहीबार देशभर थप २१ सय तीन जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको छ । यस्तै, हाल सक्रिय संक्रमितको संख्या २८ हजार १०६ छ । बिहीबार दुई हजार ८५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या एक लाख ८५ हजार ६३८ पुगेको छ । पछिल्लो समय नौ हजार ८०५ जनाको पिसिआर परीक्षण भएको छ । योसँगै नेपालमा हालसम्म १६ लाख ३३ हजार ५५९ जनाको पिसिआर गरिएको छ ।

देशभर ४४२ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांक अनुसार ६२ जना भेन्टिलेटरमा र ३८० जना संक्रमित आइसियुमा उपचाररत छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६१ जना आइसियु र ३८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५५ जना आइसियु र पाँच जना भेन्टिलेटरमा, प्रदेश १ मा ४८ जना आइसियु र तीन जना भेन्टिलेटरमा र प्रदेश २ मा ११ आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै सुदुरपश्चिममा ६ आइसियु र एक जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८९ आइसियु र १४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १० आइसियु उपचाररत रहेका छन् । यसभन्दा अघि बुधबार ३८०, मंगलबार ३५६ जना आइसियु र भेन्टिलेरमा उपचारत थिए ।

बिहीबार काठमाडौं उपत्यकामा थप एक हजार २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ९६५, ललितपुरमा १८९ र भक्तपुरमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म काठमाडौंमा ८० हजार ७२६, ललितपुरमा ११ हजार ७७४ र भक्तपुरमा ७ हजार २६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा हालसम्म काठमाडौंमा ३१२, भक्तपुरमा ८१ र ललितपुरमा ८९ जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै बिहीबार इलाममा दुई, उदयपुरमा चार, ओखलढुंगामा दुई, खोटाङमा एक, झापामा ५१, धनकुटामा एक, पाँचथरमा १२, भोजपुरमा एक, मोरङमा १२८, संखुवासभामा नौ, सुनसरीमा ७९, धुनषामा १६, पर्सामा १६, बारामा तीन, महोत्तरीमा चार, रौतहटमा तीन, सप्तरीमा २०, सर्लाहीमा पाँच, सिरहामा १०, काभ्रेमा १६, चितवनमा ८०, दोलखामा एक, धादिङमा नौ, नुवाकोटमा १४, मकवानपुरमा २३, रामेछापमा एक, सिन्धुलीमा तीन, रसुवामा दुई, सिन्धुपाल्चोकमा नौ, कास्कीमा ७६, गोरखामा १४, तनहुँमा ११, नवलपरासी पूर्वमा १२, पर्वतमा दुई, मुस्ताङमा चार, लमजुङमा १२, वागलुङमा १३, स्याङजामा १०, अर्घाखाँचीमा चार, कपिलवस्तुमा ११, गुल्मीमा १२, दाङमा ३२, नलवपरासीमा १२, पाल्पामा १०, बर्दियामा ६, बाँकेमा २१, रुपन्देहीमा ५७, दैलेखमा चार, रुकुम पश्चिममा दुई, कञ्चनपुरमा तीन, कैलालीमा पाँच, डडेल्धुरा चार, दार्चुलामा दुई, बझाङमा नौ र बैतडीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या एकहजार २७६ पुगेको छ । यसअघि बुधबार १२ जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार