काठमाडौं,
कार्तिक ३० ।
आइतबार थप एक हजार ४७७ जनामा कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख नौ हजार ७७६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप दुई हजार ७९८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म एक लाख ७३ हजार ४३० जना निको भएका छन् । देशभर ३५ हजार १२५ सय जना सक्रिय संक्रमित छन् ।
हाल ४१८ जना कोरोना सङ्क्रमित अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन् । हाल ३५४ जना आइसियू र ६४ जना भेन्टिलेटरमा छन् । आइसियूमा भर्ना हुनेको सङ्ख्या बागमती प्रदेशमा सबैभन्दा धेरै छन् । बागमतीमा मात्र १२० जना आइसियूमा छन् भने ६१ जना भेन्टिलेटरमा छन् ।
आइतबार उपत्यकामा ८०७ जना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ६३२, भक्तपुरमा ४२ र ललितपुरमा १३३ जना सङ्क्रमित थपिएका हुन् । काठमाडौं जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या ७८ हजार २७७, भक्तपुरमा ७ हजार ८६ र ललितपुरमा ११ हजार २९५ जना पुगेका छन् । उपत्यकामा कुल सङ्क्रमितको सङ्ख्या ९६ हजार ६५८ पुगेको छ ।
यस्तै आइतबार इलाममा पाँच, उदयपुरमा एक, ओखलढुङ्गामा एक, खोटाङमा चार, झापामा २२, ताप्लेजुङमा आठ, तेह्रथुममा सात, धनकुटामा ६, भोजपुरमा दुई, मोरङमा ३१, सङ्खुवासभामा दुई, सोलुखुम्बुमा १३, सुनसरीमा २६, धनुषामा एक, बारामा तीन, महोत्तरीमा एक, रौतहटमा दुई, सप्तरीमा चार, सर्लाहीमा दुई, सिरहामा पाँच, काभ्रेमा चार, चितवनमा ३६, दोलखामा पाँच, धादिङमा नौ, नुवाकोटमा ४४, मकवानपुरमा पाँच, रसुवामा तीन, सिन्धुपाल्चोकमा चार, कास्कीमा ३९, गोरखामा चार, तनहुँमा ६, नवलपरासी पूर्वमा आठ, लमजुङमा दुई, बागलुङमा दुई, स्याङजामा तीन, अर्घाखाँचीमा चार, कपिलवस्तुका १७, गुल्मीका २२, दाङका ६४, नवलपरासीका १६, पाल्पाका २२, प्यूठानका १०, बर्दियाका ६, बाँकेका २८, रोल्पामा दुई, रुपन्देहीका ९१, दैलेखमा ६, रुकुम पश्चिममा दुई, सल्यानमा एक, सुर्खेतमा दुई, हुम्लामा एक, अछाममा तीन, कञ्चनपुरमा ६, कैलालीमा ३३, डडेल्धुरामा दुई, बझाङमा ६ र बैतडीमा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भइको छ ।
थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या एक हजार २२१ पुगेको छ । यसअघि शनिबार १३ जना सङ्क्रमितको मृत्यु भएको थियो ।






