काठमाडौं,
कार्तिक २६ ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफूविरुद्ध परेको रिट खारेज भएपछि सबैमा आभार प्रकट गर्नुभएको छ । बुधबार सामाजिक सञ्जालमार्फत उहाँले आफूप्रति शुभेच्छा र सद्भाव प्रकट गर्ने सबैमा आभार प्रकट गर्नुभएको हो ।
‘राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलासले खारेज गरेको छ’, गौतमले भन्नुभएको छ ।
उहाँले यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको नभई पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरू क्रियाशील भएका कारण यस्तो भएको बताउनुभएको छ । ‘फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु,’ गौतमले भन्नुभएको छ ।






