बडादशैंको आज आठौं दिन महाअष्टमी, देवी दुर्गा भगवतीसहित महालक्ष्मी, महाकाली, र महासरस्वतीको विशेष पूजा गरिँदै

काठमाडौं,
कार्तिक ८ ।

नेपालीहरूको महान् चाड बडादशैंको आज आठौं दिन । आज महाअष्टमी । आज देवी दुर्गा भगवतीसहित महालक्ष्मी, महाकाली, र महासरस्वतीको विशेष पूजा गरिन्छ । आज देवी भगवतीको पूजा गरी बलि चढाउने गरिन्छ । विभिन्न शक्तिपीठहरुमा राँगो, खसी, हाँस, कुखुरा आदिको बलि दिने प्रचलन छ । पशुबलि नदिनेले भने नरिवल, कुभिण्डो लगायतका फलफूल चढाउने गर्छन् ।

घटस्थापनाका दिन विधिपूर्वक स्थापना गरिएको कलश र जमरा राखिएको स्थानमा पूजा गर्ने गरिन्छ । आजकै दिन घरघरमा रहेका हतियार र कलपूर्जाहरु निकालेर पूजा गर्ने परम्परासमेत रहेको छ । आज राति हनुमानढोकामा ५४ वटा राँगा र बोकाको बलि दिएर कालरात्री पूजा गर्ने परम्परा रहेको छ ।

नवरात्र अन्तर्गत आज महा दुर्गाको आठौं रुप महागौरीको पूजा गरिन्छ । परमकल्याणकारी र ममता भरिएको महागौरीको पूजा गर्दा पाप नष्ट हुने, दरिद्रता र कष्ट नष्ट हुने धार्मिक विश्वास रहिआएको छ ।

नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आहृवान गरी पूजा गरिन्छ ।

यस वर्ष कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणलाई नियन्त्रण र रोकथामका लागि देवीका मन्दिरहरू शक्तिपीठमा नियमित पूजाबाहेक अन्य पूर्जा अर्चना बन्द गरिएको छ । त्यसैगरी स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु पालना गरी दशैँ मनाउन पनि सरकारले आह्वान गरेको छ ।

 

यसमा तपाइको मत

अन्य समाचार