काठमाडौं,
कार्तिक ७ ।
लोकप्रिय बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको शव्द रचना तथा उहाँकी सुपुत्री गायिका सराना श्रेष्ठको स्वर रहेको गीत ‘एक तर्फी माया…’मा कहिले काही कसैको जीवनमा हुन सक्ने एक तर्फी प्रेमको विषयलाई गीत र भिडियो मार्फत अत्यन्तै आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ ।
नेपालीको महान् चाड दशैँको अवसर पारेर विषम परिस्थितीका बावजुद दर्शक स्रोताका लागी साङ्गीतिक मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सार्वजनिक गरिएको गीतलाई निकै मनपराईएको छ । ‘ककाकी प्रडक्सन’को युट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई धेरैले रुचाएका छन् । गायक तथा सङ्गीतकार सुरेन्द्र श्रेष्ठको सङ्गीतमा तयार भएको गीतको तयारी भिडियोको कन्सेप्ट तथा निर्देशन समेत स्वयम् गायिका सरना श्रेष्ठले गर्नुभएको छ । रुपम सिंह गुरुङको ऐरेञ्ज रहेको गीतमा एक तर्फी गरिने मायाको विषयलाई उत्कृष्ट शव्दबाट वर्णन गरिएको छ ।
नायिका श्वेता खड्काको काया फिल्मस्ले निर्माण गरेको भिडियोमा नायिका श्वेताको साथमा नायक अनुप विक्रम शाही, मोडल निराजन प्रधान तथा गायिका सरानालगायतको उत्कृष्ट अभिनयले भिडियो थप आकर्षक बनेको छ ।
फिल्मी शैलीमा निर्माण गरिएको भिडियोलाई उत्कृष्ट बनाउन काया फिल्मसले निकै मिहिनेत गरेको देखिन्छ । भिडियोको छायाँकन नवराज उप्रेतीले गर्नुभएको छ भने कोरियोग्राफी गम्भिर विष्ट र सम्पादन वार्डड क्यानभास फिल्मस्को छ ।






