काठमाडौं,
कार्तिक ७ ।
पूर्वराजा ज्ञानेन्द शाहले कोरोनाभाइरसको महामारीमा नागरिक जीवन सहज र सुरक्षित बनाउन राजनीतिक दलहरु असफल भएको बताउनु भएको छ ।
दशैंको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले प्राकृितक विपत्ति मानव वसको कुरा नभए पनि विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन कष्टकर बन्दै गएको ठहर गर्नुभएको छ ।
सङ्कटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ भन्ने आम मान्यता रहेको भन्दै उहाँले भन्नु भएको छ, ‘यस आधारमा हेर्दा नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध यतिबेला हुँदैछ ।’
पूर्वराजा शाहले दैनिक जीविकाको अत्यावश्यक वस्तुको मूल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रास जस्ता विषयले जनजीवन पिरोलिएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले ‘समाजमा अनेक अपराधिक गतिविधि र पिशाच प्रवृत्ति बढ्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ । त्यसैले आज सबैले बढ्दो आशुरी र भष्माशुरी प्रवृत्तिबाट उन्मुक्ति चाहिरहेका छन्,’ भन्नुभएको छ ।
शाहले ‘नेपाललाई चिनौं, नेपालीलाई बुझौं, नेपाली भएर बाँचौं अनि नेपाल र नेपालीको निम्ति सोचौं’ भन्दै नेपालकै हितका खातिर र नेपाली शैली अङ्गालेर उज्यालो बाटोतिर लैजाऔं भनेर आग्रह गर्दै आएको बताउनुभएको छ ।






