गीत सुन्न म्युजिक नेपालको नयाँ एप

काठमाडौं,
कार्तिक ५ ।

म्युजिक नेपालले एनसेल र न्यू आई टि भेन्चरको सहकार्यमा नेपाली गीत सङ्गीतका पारखीहरूका लागि विश्वस्तरिय एप ल्याएको छ । एण्ड्रोइड र आइओएस दुबै थरि मोबाइल फोनमा चलाउन सकिने यस एपको हाइपरलिङ्क एन्ड्रोइड र आइओएस रहेको छ ।

यस एपमार्फत प्रयोगकर्ताहरूले लोकदोहोरी, आधुनिक, पप, नेपाली फिल्म, भाषाभाषीलगायत कुनै पनि विधामा अहिलेका चर्चित, लोकप्रिय गीत मात्र नभई पुराना सदाबहार नेपाली गीत पनि चौबीसै घण्टा सुन्न सक्नेछन् । त्यति मात्र नभै आफ्नो रूचि अनुसारका गीतहरू छान्न, सूचि बनाउन र सङ्ग्रहित गर्न सकिनेछ ।

आफूले सुन्न मन पराउने गीतका बोल पनि देख्न सकिने तथा फेसबुक मार्फत साथीभाइहरूसँग शेयर गर्न सकिने प्रावधान पनि यस एपमा रहेको छ । साथै अफलाईन सुन्न सकिने छ । विशेष गरी नेपाली गीतका श्रष्टा कलाकारहरूको प्रवद्र्धनका लागि समर्पित यो एपमार्फत उनीहरू असंख्य श्रोताहरु माझ पुग्न सक्ने र श्रोताहरूले पनि आफ्नो रोजाईका कलाकार र उनीहरूका नयाँ गीतहरू निर्विध्न रुपमा सुन्न सक्ने बताइएको छ । विश्वका अरु थुप्रै मुलुकका कलाकारहरूले व्यावसायिक रुपमा उठाइरहेको फाइदा अब म्यूजिक नेपालको माध्यमबाट एनसेल मार्फत नेपाली श्रष्टा कलाकारहरुले पनि उठाउन सक्ने भएको हुनाले यसलाई एउटा महत्वपूर्ण उपलब्धि मान्न सकिने म्यूजिक नेपालले जनाएको छ ।

दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा एक महिनासम्म निशुल्क गरिएको यस एप एनसेलका वर्तमान अवस्थामा भएका करीब एक करोड ६३ लाख ग्राहकहरुका लागि मात्र उपलब्ध गराइएको छ । यस एपले नेपाली मोबाईल प्रयोगकर्ताहरूलाई पनि सङ्गीत सुन्ने नयाँ र सुखद अनुभवसँग परिचित गराउने छ ।

एन्ड्रोड फोनका लागि प्ले स्टोरमा गएर गीत सर्च गरी डाउनलोड र आइओएसको लागि एप स्टोरमा गएर गीत सर्च गरी डाउनलोड गर्नुपर्ने हुन्छ । एनसेलका कुनै पनि ग्राहकले यो एप डाउनलोड गर्ना साथ ३० दिनको लागि निःशुल्क प्रिमियम सेवा उपभोग गर्न सक्नेछन् । डाउनलोड गरेको एप खोलेर आफ्नो एनसेलको मोबाइल नम्बर हाल्ना साथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाइ गरेर एक दिन, सात दिन वा ३० दिनको योजना छान्नुपर्ने हुन्छ । एप डाउनलोड गर्दा कुनै शुल्क लाग्नेछैन । तर डेटाको शुल्क भने प्रयोगकर्ताको योजना अनुसारको लाग्न सक्नेछ । एप प्रयोग गरेको पहिलो ३० दिन कुनै शुल्क लाग्दैन । त्यसपछि प्रति दिन तीन रुपैंयाँ, प्रति हप्ता १५ रुपैंयाँ वा प्रति महिना ५० (कर बाहेक)मा असीमित सङ्गीत सुन्न सकिनेछ ।

यसमा तपाइको मत

अन्य समाचार