काठमाडौं,
आश्विन ३० ।
शुक्रबार थप ४३ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै देशभर कुल संक्रमितको संख्या योसँगै संक्रमितको कूल संख्या १ लाख २६ हजार १३७ पुगेको जानकारी दिनुभयो । देशभर शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ ।
थप तीन हजार ५२२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै हालसम्म ८८ हजार ४० जना कोरोना संक्रमित निको भएका छन् । देशभकारका विभिन्न प्रयोगशालामा १६ हजार ५३१ जनाको पिसिआर परीक्षण गरिएको छ । योसँगै हालजसम्म १२ लाख ५४ हजार १६७ जनाको पिसिआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १२ हजार ३३६ जना र होम आइसोलेसनमा २५ हजार ४६ जना छन् भने चार हजार ८०८ जना क्वारेन्टिनमा छन् । ७७ जनाको भेन्टिलेटरमा र ३१५ जना आईसीयूमा उपचाररत छन् ।
काठमाडौं उपत्यकामा दुई हजार ४०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ जनालाई कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमित मृतकको संख्या ७ सय नाघेको छ । गत २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ७१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि बिहिबार १९ जनाको मृत्यु भएको थियो ।






