काठमाडौं,
आश्विन २९ ।
बिहीबार थप तीन हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको नियमित मिडिया ब्रिफिङमा योसँगै कुल संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको जानकारी दिनुभयो । देशभर बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ ।
बिहीबार थप तीन हजार ५६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ । हाल डिस्चार्ज हुने दर ६९ दशमलव चार प्रतिशत छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरूमा १६ हजार ५९८ जनाको पिसिआर परीक्षण गरिएको छ । योसँगै हालसम्म १२ लाख ३७ हजार जनाको पिसिआर परीक्षण गरिएको छ । यस्तै देशभरका संस्थागत आइसोलेसन १२ हजार ३३९ जना र होम आइसोलेसनमा २४ हजार १९४ जना रहेका छन् भने चार हजार ८२५ जना क्वारेन्टिनमा छन् । देशभर ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ भने ३१४ जना आईसीयूमा उपचाररत छन् ।
बिहीबार काठमाडौं उपत्यकामा थप एक हजार ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा एक हजार ६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जनामा कोरोना संक्रमण देखिएको हो ।
थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६९४ पुगेको छ । यसअघि बुधबार १२ जनाको मृत्यु भएको थियो ।






