✍️ पेशल आचार्य
काठमाडौं,
आश्विन २९ ।
बूढापाकाका भनाइ र तिथि हिसाबअनुसार कुशे औँसीको एक महिनामा जमरे औँशी पर्दछ । जमरे औँशीलाई हामी घटस्थापना भन्छौं । यही दिनदेखि १५ दिनसम्म दसैँपक्ष या दुर्गापक्ष लाग्दछ । दसैँलाई सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूले ठूला चाडका रूपमा लिएका हुन्छन् । ‘हुँदा खाने र हुने खाने’ सबै हाँचका नेपालीहरूलाई यो चाडको रौनक तथा फ्लेबरले तान्ने गरेको छ । त्यसैले धेरै नेपालीहरूले खाने, लाउने र घरपरिवारमा किन्ने नयाँ सामानहरू र सावारीका साधनहरूका लागि दसैँ नै पर्खेर बस्ने गर्छन् ।
विगत् र वर्तमानको दसैँमा आकास पातालको अन्तर पाइन्छ । हिजो बोकेर र तुल्याएर दसैँ मान्नेहरू समाजमा अल्पसंख्यक हुँदै गएका र किनेर दसैँ मान्नेहरू बहुसंख्यक हुँदै गएकाले यी पर्वका हुलिया समेत परिवर्तन भएकोमा अब शंका रहेन ।
यी हरफहरू लेखिरहँदा अधिकमाश छ चलिरहेको छ । सोर श्राद्ध सकिएपछि लागेको अधिक मासका कारण यसपटकको दसैँतिहार दुवै ठूला पर्वहरू एक महिनापछि धकेलिए । पानी पर्न अझै छाडेको छैन । यसपाली देशका धेरै स्थानमा बाढीपहिरो गयो । जनधनको धेरै क्षति भयो । कतिपय जिल्लाका वस्तीहरू नै जोखिममा रहेकाले सार्नु पर्ने राय विज्ञहरूले दिएका छन् । नेपालमा विगत् केही वर्षहरूदेखि भएको अव्यवस्थित डोजरे विकासले गर्दा यस्ता समस्याहरू निम्त्याएको भन्ने सम्बन्धित क्षेत्रका विज्ञहरूको अड्कल रहेको छ ।
किसानहरूले यसपाली खाँचो भएको समयमा धान खेतीमा मल हाल्न पाएनन् । मल आपूर्तिका कारण सरकार नै विवादमा पर्न गयो । सर्वहारा सरकारका बौद्धिक कृषिमन्त्री समेत मलका बोरामा बाँधिए भन्ने छेड्खान समेत पत्रपत्रिकाहरूले गरे । के भएको हो ? सोको मेलोमेसो किसानहरूले थाहा पाउने कुरै भएन । सरकार भएको कुरा भन्दैन उसले भनेको कुरा व्यवहारमा हुँदैन । दोधारे र दुईजीब्रे कुराका कारण यत्रो बहुमत प्राप्त सरकार किसानका हकमा फेल भएरै छाड्यो । नेपालमा मात्र किन यस्तो हुन्छ ? यस्ता प्रश्नको उत्तर दिने हिम्मत कसैले गर्दैनन् । अहिले किसानका झुपडीमा यी र यस्ता प्रश्नका बारे कुरा हुन्छन् ।
फेरि पर्वकै सन्दर्भमा जाऊँ । अधिकमाशका कारण हिन्दूहरूले मान्ने दसैँतिहारहरू कार्तिक र मङ्सिरमा परेका छन् । अझ तिहारको टीको त मङ्सिर १ गते परेको छ । भनेपछि यो वर्ष कार्तिकको टीको भएकाले पहिलो पाली ससुराली जाने ज्वाइँ छोरीहरूले सकभर टीका लगाउँदैनन् । फेरि यसपटक कोरोना कहरका कारण उति धेरे बिहे हुन पाएनन् । बिहे भएकाले पनि कि त भर्चुअल टीका लगाउनु प¥यो । व्यक्तिगत र पारिवारिक स्वास्थ्यका कारणले माइत, मावल र ससुराली जान नहुने परिस्थितिको सिर्जना प्रकृतिले गरेको छ ।
विश्वव्यापी रूपमा फैलिने रोगहरूले हाम्रा संस्कृति र चाडवाडहरूको हुलिया फेर्दै लगेका छन् । अरू चाडहरू त खासगरी सामान्य रूपले मनाउन सकिने हुन्छन् तर दसैँ तिहारजस्ता ठूला पर्वमा देशविदेशबाट आफ्ना कमाउने, पाल्ने र खुवाउने अभिभावकहरू लामो विदाका कारण घर छुट्टीमा आउने हुनाले यस्ता पर्वहरूको पार्विक महत्वको गौरव बेग्लै प्रकारको हुन्छ । यो पटक त्यो नदेखिने भयो ।
दुःखको कुरा नेपाली अर्थतन्त्र समेतलाई करिब ६० प्रतिशतले चलायमान बनाउने दसैँ÷तिहारमा सबै प्रकारका बन्द/बेपार, यातायात, सुनचाँदी, लत्ताकपडा, नयाँ नोट, लुगाफाटो, दुई/चार पाङ्ग्रे सवारीका साधन, माछामासु, मदिरा, किताब र जुवातासको खेलबाड यसपटक नहुने भइहाले पनि अति न्यून रूपमा हुने भएकाले तत्तत् क्षेत्रका सुक्रीविक्री हुने साहूमहाजनहरूको तालु सुकेको छ । यस्तो अवस्था कोरोना महामारीका कारण यो पटक देखियो ।
स्कुल/कलेजहरू बन्दप्रायः छन् । हाकाहाकी हुने अफलाइन कक्षाहरू अनलाइनमा गए । अझ कतिपय कक्षाहरू अनलाइनबाट टिभी, एफुएम् र छापा माध्यमको प्रयोग गरी सञ्चालन गर्ने सरकारको निर्णय भएको छ । अर्कोतिर कोरोना महामारी झन्झन् तीव्र रूपले वृद्धि भैरहेको छ । धनी र विकसित देशले खोपको आविष्कार गरेका सुसमाचारहरू पनि प्रकाशित र प्रशारित भैरहेका छन् जसले हामीजस्तो तन्नम देश र देशवासीहरूलाई आस देखाएको छ ।
नेपाली संस्कृति र परम्परामा चाडवाडहरूको प्रमुख भूमिका रहेको पाइन्छ । खासगरी खेती किसानी गर्ने र गाउँमा बसोबास गर्ने मानिसहरूका लागि चाडपर्वहरू थकाइ मार्ने, भेटघाट गर्ने, दुःखसुख साटासाट गर्ने र सामान्य व्यावहारिक कामहरू निम्ट्याउने अवसरका रूपमा लिइन्छन् तर अहिले समाज तीव्र सहरीकरणको मारमा पर्दै गएको, वृहत् र संयुक्त परिवार क्रमशः एकल र सानो परिवारमा टुक्रिँदै गएकाले मानिसहरू बढी व्यक्तिमुखी र व्यक्तिवादी भई सेल्फिस् बन्दै गैरहेका छन् ।
काम र दामका लागि घरका लागि घर छाड्ने नेपालीहरू अधिक छन् । अझ हरेक परिवारका मानिसहरू विदेशमा छन् । विदेशबाट उनीहरूले खुन पसिना एकत्रित गरी रेमिट्यान्स पठाएका छन् । त्यही रेमिट्यान्सले उनीहरूको घरपरिवार चल्छ । अझ खुसीको कुरो त तीनवटै तहको सरकारका लागि कर उठति हुन्छ । अहिले ती कर्मठ दाजुभाइले भनेका बेला र अभर परेका समयमा देश फर्कन पाएनन् । सरकारको निश्चित कोटामा परेर देश आउँदा के ठेगान हवाइजहाजको सिटमा नभएर काठका बाकसमा कतै देश फिरिने हो कि भन्ने भाम चिन्ता तिनीहरूमा छ । यता सरकार उल्टो बिलखबन्दमा छ ।
विदेशिएका सबै नेपाली देशमा आए यहाँ तिनीहरूले काम खोज्छन् । देशमा कोरोनाले भएका कामहरू सबै रोकिएका र बन्द भएका बेलामा नयाँ कामहरू उब्जाउने खुबी त सरकारसँग छँदै छैन । यस्तो बेलाँ सरकार पनि कम बाठो छ र ? पहिलेपहिले सजिलो समय हुँदा तिनैको रेमिट्यान्सलाई देश विकासका नाममा दाइँ गर्न पल्कियो भने अहिले प्रतिकूल अवस्थामा तिनै विदेशिएका नेपाली दाजुभाइ नै देशका लागि घाँडो सावित भए । यो स्थिति कोभिड –१९ ले ल्याएको हो ।
यस्तो अवस्थामा फेरि हामीमाझ हुलिया परिवर्तन गरी हिन्दू धर्मावलम्बीहरूले मनाउने चाडहरू आएका छन् । यी चाडहरू आउनु अगावै विवाहितहरूलाई तिनीहरूका ससुरालीबाट यस्तो अग्रीम सूचना मोबाइलबाट प्राप्त भएको जानकारी प्राप्त भएको छ ।
ती सात सूत्रीय सूचना यी व्यहोरामा प्राप्त भए :
– ससुराली जाँदा पिसिआर टेष्ट अनिवार्य गर्नु पर्ने खबर मोबाइलमा आउन सक्ने,
– सासूससुरा, जेठान, सालासाली र अन्यसँग भौतिक दूरी कायम गर्नु पर्ने,
– आर्थिक मन्दीका कारण १३ प्रतिशत दक्षिणामा व्यापक कटौती,
– टाढाको ससुराली जाँदा पाससहित १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने जसले गर्दा दसैँ साइतको टीको खुस्किन सक्ने जोखिम,
– ससुरालीमा बस्दा हरहमेसा माक्स लगाउनु पर्ने अन्यथा ससुरालीले बाटैबाट लखेट्ने सम्भावना,
– स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी यसपालीको दसैँको टीका÷अक्षता पवित्र पार्नका लागि भन्दा सुरक्षालाई ध्यान दिएर स्यानिटाइजरमा मुछिने जानकारी,
– डाडुले टीको लगाएर चिम्टाले दक्षिणा दिने प्रबल सम्भावना रहेको,
– कोरोना सर्ने डरले यसपाली मांस मदिरारहित दसैँ मनाइने जानकारी प्राप्त,
यी कोरोनासँग सम्बन्धित सुरक्षाका उपायहरू अपनाउनका लागि छोरी र ज्वाइँ यो पल्ट ससुराली नगई छोरीलाई प्रतिनिधिका रूपमा सुटुक्क माइत पठाउने गृह बैठकले सर्वसम्मतिबाटै निर्णय गरेको जानकारी पर्व मनाउने मानसिकतामा रहेका नेपालीहरूका घरघरबट आएको छ ।






