कपिलवस्तु
आश्विन २५ ।
नेपाल मुक्ति मञ्च कपिलवस्तुका जिल्ला अध्यक्ष समेत रहनुभएका श्यामकुमार मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ । उहाँ गत स्थानीय निर्वाचनमा कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मेयरको उम्मेद्वारसमेत बन्नु भएको थियो ।
आइतबार राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीले पार्टी विधानअनुसार मौजुदा केन्द्रीय समितिमा सदस्य संख्या थप गरी केन्द्रीय कार्य समिति विस्तार गर्नुभएको हो ।
केन्द्रीय समिति विस्तार भएसँगै राप्रपाको केन्द्रीय कार्यसमिति ७२७ सदस्यीय भएको छ । तीन फरकफरक पार्टीहरूबीच एकीकरण भएपछि बनेको राप्रपालाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलोपटक केन्द्रीय समिति विस्तार गरिएको हो । जसमा कपिलवस्तु कृष्णनगरका मिश्र पर्न सफल हुनुभएको हो ।
मिश्र भोजपुरी तथा नेपाली गीत, सङ्गीतको क्षेत्र र नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँन सफल ब्यक्तित्व हुनुहुन्छ । उहाँले नेपाली गीतको एल्बम स्रोता र दर्शकमाझ ल्याउने तयारीमा रहेको भएपनि कोरोना कहरका कारण अहिलेलाई स्थगन गरेको जानकारी दिनुभयो । कलाकारितासँगै सामाजिक, राजनीतिक र व्यवसायसमेत सँगसँगै लिएर अगाडि बढ्दै गर्नुभएका मिश्रले देउता, किङ्ग, ब्वाईफ्रेण्डलगायतका चलचित्रमा अभिनय गर्नुभएको छ ।






