✍️ हेमराज अधिकारी/तुमिन, पूर्व सिक्किम
आश्विन १७ ।
नवरात्रि शुरु हुनु अघिदेखि ताइचुङ, माइली धानको चिउरा आधा रातिदेखि ढिकिको ठङ–ठङ ठङ आवाज साँच्चिकै दशैँ आएको आभास हुन्थ्यो । फलानोले भुटेको धानको चिउरा कस्तो दामी हुन्छ भनेर गाउँनै हल्लिन्थ्यो हल्लाले । कमेरो र रातो माटो लेकको सिद्विचोकदेखि दिन माया मारेर गाउँ भरिका बलिया बाङ्गाहरूले ओसारपसार गर्ने चलन प्रायः सबै नेपाली-गोर्खालीको घरमा थियो, कमेरो, रातो माटोले माटो भाग पोत्ने अनि बिमको भागमा थोत्रे ब्याट्री कुटेर लाउने गाउँवासीमा रोचक परम्पराले साच्चिकै दशैँ आउथ्यो । अहिलेका बिल्डिङमा जन्मेका नानीहरूलाई यो प्रसङ्ग दन्ते कथा हुनेछ । गाउँमा कमेरो खन्ने खोपोमा खन्दाखन्दै माथिको भाग लडेर मान्छे पुरेको र कोही कोहीलाई हतारपतार तान्नु परेको अनि कोहीचै पुरिएर मरेको प्रसङ्गसमेत सुनिन्थ्यो । हरियो गोबरले भुइँ लिपिन्थ्यो, अगेनो, चुलो, भर्सेली, आट, मजेरी रातो माटोले लिपपोत गर्ने दशैँ अब आउनै छाड्यो नेपाली, गोर्खालीको । प्रत्येक पल्ट फर्सिको सब्जी काट्दा भित्रको बियाँको धुलो अचार दशैँमा ज्वाइचेलालाई चाहिन्छ भनेर गाउँभरी फिलुङ्गे र खड्कुँडा्मा पकाएको भक्मिलोको अमिलो, अदुवा, तीलको अचार, च्वाप्प घ्यूमा भिजाएर मसिनो अट्टेको भात, भुइँमा पलैंटि मारेर कस्तो खाइन्थ्यो, कस्तो दशै मानिन्थ्यो ।
गाउँमा लिङ्गे पिङ खेलिन्थ्यो । म पनि पिङबाट धेरै पल्ट झरेको छु । दशैँमा बाबाले अदुवा–अलैंची, फापर बेचेर ल्याएको दशैँको लुगाफाटोले साच्चिकै दशैँको रौनक ल्याउथ्यो । लुगाफाटो साथिहरू भेला गरेर देखाउने औ तेरो भन्दा मेरो राम्रो भनेर साथीहरूको मन खिन्न बनाउने, साथिको घरमा झगडा मच्चाउने, दुई चार दिन बोलचाली बन्दाबन्दी गराउने दशैँ अब कहाँ आउला र.. ? दशैँमा दही-मोही भएको घरमा पाहुनाको भिडभाड हुन्थ्यो । सोह्र श्राद्धदेखी गाउँमा केरा खोज्न जाने, अनि केराको बैना अगावै दिने दशैँ अब हरायो । टिका जमरा लाएर मान्नेगुन्नेको मेलैसँग खुट्टा ढोग्ने दशैँ अब हरायो धेरै । कोलमा बारिकै सरसों तेल पेल्ने दशैँ-तिहार हरायो धेरै । ज्वाई चेला बाहिर जादा बाहिरै राडि, भित्र जादा भित्रै राडि, बोक्ने बाबा हजुरबुबाहरू बितेर गए धेरै । बाबा–हजुरबुबाले तरितुज्ज पुर्याएको दशैँ अब हरायो धेरै । आमासँग थुन्सेमा कोसेली पात बोकेर खुर्मी भिरेको थुन्से बोकेर माइत-मावल गएको दशैँ जस्तो अहिलेको भौतिक सुखले भत्भती पोलेको, सबकुछ भएर पनि एक्लो एक्लो भएको दशैँ पनि अब आउन लाग्यो ।
रुपैयाँ पैसाको कमि छैन कसैलाई अहिले । दुनियाँमा जति जनसङ्ख्या बड्यो त्यति एक्लो हुँदै जादैछ मान्छे । दशैँमा लाखौं खर्च गरेपनि ‘भ्यालुलेस’ हुँदैछ मान्छे र उसले मनाएको दशैँ । आखिर मान्छे कहाँ चुक्यो त ? के अहिलेको देखावटी आडम्बर र रेडिमेड संसारले हो त ? हुनेखानेको दशैँ भन्दा हुँदाखानेको दशैँले रौनक ल्याएको छ अहिले पनि । प्रत्येक बाबा हजुरबुबाहरूको पालोमा समाज समानान्तर थियो होइन र ? इगोलेस सोसाइटी थियो उतिबेला । हरेक घर घरमा समानान्तर दशैँ आउथ्यो उतिबेला । अहिलेको बासमती बजारे चिउरा र इन्जेक्सनले पकाएको केरा घरभरी ल्याउदासमेत उतिबेलाको रौनक ल्याउन सक्दैन । तर, परम्परा अक्षुण रूपमा रहनुपर्छ । ढिकी जाँतो कसको कसको घरमा छ त अहिले ? आधुनिक घरहरूमा उतिबेलाको रौनक आउन सक्दैन भन्ने मेरो अभिप्राय मात्र हो । उतिबेलाका हरेक औजार र परम्परा, बाँच्ने जीवन शैली कति निस्वार्थ र निर्दोष थिए ।
धनीले शोषण गरेर मनाएको दशैँ भन्दा गरिबले खाइनखाई कमाएको दशैँले रौनक ल्याउछ समाजमा । हुनेखानेका छोराछोरीले लगाएको हजारौंको महङ्गो लत्ताकपडा भन्दा बाबाले अदुवा बेचेर ल्याइदिएको कमिज र पेन्टले रौनक ल्याउछ दशैँमा । तर, जसरी होस यि चाड पर्व हामीले मनाउनुपर्छ । आउदै गरेको दशैँ महामारीको दशैँ हो । टाढाबाट आउजाउ गर्न नमिले पनि घर परिवारसँगै बसेर निस्वार्थ र उल्लासमय दशैँ मनाउ । सबै सबैमा अग्रिम शुभेच्छा व्यक्त गर्दछु ।






