काठमाडौं,
आश्विन १० ।
नेपाली चलचित्रका छायाँकार जावेद शाहको निधन भएको छ । उहाँको बुधबार काठमाडौंको क्षेत्रपाटीस्थित आफ्नै निवासमा निधन भएको हो । ७० वर्षको उमेरमा हृदयघातका कारण निधन भएका उहाँको विहीवार मुश्लिम परम्परा अनुसार अन्तिम दाह संस्कार भइसकेको छ । उहाँको निधनको खबर भने शुक्रवार मात्र बाहिरिएको हो । छायाँकार शाहको श्रीमती र दुई छोरा हुनुहुन्छ ।
रुसमा चलचित्र सम्बन्धि अध्ययन गरेर फर्किएपछि सन् १९८३ मा उहाँले फिल्म ‘बदलिँदो आकाश’ मा सहायक छायाँकारको रुपमा काम गर्नुभएको थियो । शाहले पूर्ण छायाँकारका रुपमा चलचित्र ‘भाग्य रेखा’ मा काम गर्नुभएको थियो, जुन राजेश हमाल अभिनीत पहिलो चलचित्र हो ।
शाहले ‘विजय पराजय, युगदेखि युगसम्म, चोखो माया, सीमाना, प्रतिज्ञा, जमिन, नातेदार, प्रतीक्षा, ज्वाला, अवतार, रानी खोला’लगायत दर्जनौं चलचित्रको छायाँकन गर्नुभएको छ । उहाँको पछिल्लो चलचित्र ‘मनको टुक्रा’ सन् २००४ मा प्रदर्शन भएको थियो । उहाँले एक मैथली चलचित्रमा समेत काम गर्नुभएको थियो ।






