अहिलेसम्मकै उच्च एकैदिन दुई हजार २० सङ्क्रमित थपिए

काठमाडौं,
आश्विन २ ।

शुक्रबार अहिलेसम्मकै उच्च दुईहजार २० सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थप दुईहजार २० सङ्क्रमित थपिएको जानकारी दिनुभयो । यससँगै कुल सङ्क्रमितको सङ्ख्या ६१ हजार ९ सय ९३ पुगेको छ भने देशभर शुक्रबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ३ सय ८३ रहेको छ ।

शुक्रबार थप ८ सय ७१ जना कोरोना सङ्क्रमित निको भएका छन् । त्यसैगरी हालसम्म ४३ हजार ८ सय २० जना सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै हालसम्म आठ लाख ९४ हजार ३ सय ७३ जनाको पीसीआर परीक्षण भएको छ । देशभरका संस्थागत आइसोलेसन नौ हजार ३ सय ९५ जना र होम आइसोलेसनमा आठ हजार ८८ जना छन् भने सात हजार ७ सय ३६ जना क्वारेन्टिनमा छन् । यस्तै शुक्रबारसम्म देशभर ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ भने १ सय ७३ जनाको आईसीयूमा भइरहेको छ ।

काठमाडौं उपत्यकामा हालसम्मकै धेरै कोरोना सङ्क्रमित देखिएका छन् । उपत्यकका तीन जिम्लामा ८ सय ५९ जना कोरोना सङ्क्रमित थपिएका हुन् । काठमाडौंमा ६ सय ९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । उपत्यकामा कोराना सङ्क्रमितको कुल सङ्ख्या १५ हजार १ सय ३८ पुगेको छ । काठमाडौंमा १२ हजार ४ सय ४४ ललितपुरमा एक हजार ४ सय २६ र भक्तपुरमा एक हजार २ सय६८ सङ्क्रमित पुगेका छन् ।

यस्तै शुक्रबार उदयपुरमा दुई, ओखलढुङ्गामा एक, झापामा ६, भोजपुरमा दुई, मोरङमा १ सय १८, सुनसरीमा ५८, धुनषामा नौ, पर्सामा १७, बारामा ७८, रौतहटमा ६, सप्तरीमा ४५, सर्लाहीमा दुई, सिरहामा १९, काभ्रेमा ६, चितवनमा १९१, दोलखामा एक, धादिङमा १४, नुवाकोटमा ६, मकवानपुरमा ३०, रामेछापमा ६, सिन्धुपाल्चोकमा तीन, कास्कीमा ८६, गोरखामा १२, तनहुँमा पाँच, नवलपरासी पूर्वमा ३९, लमजुङमा ६, अर्घाखाँचीमा नौ, कपिलवस्तु र गुल्मी ६÷६, दाङमा २४, नलवपरासीमा ४१, पाल्पामा तीन, प्युठानमा एक, बर्दियामा १८, बाँकेमा दुई, रुपन्देहीमा ८६, रोल्पामा नौ, दैलेखमा एक, रुकुम पश्चिममा २३, सुर्खेतमा १ सय १७, अछाममा १६, कञ्चनपुरमा सात, कैलालीमा १७, डोटीमा एक, बझाङमा एक, बाजुरामा तीन र बैतडीमा २ जनामा कोरोना पुष्टि भएको छ ।

थप सात जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ३ सय ९० पुगेको छ । पाँच वटा जिल्लाका दुई महिला र पाँच पुरुष गरी सात जनाको मृत्यु भएको हो । मृत्युहुनेमा मोरङमा ६६ वर्षीया महिला र ६६ वर्षीय पुरुष, काठमाडौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुष, भक्तपुरमा ८२ वर्षीय पुरुष, ललितपुरमा ६६ र नवलपरासीमा ३१ वर्षीय पुरुष रहेका छन् ।

कोभिड-१९ का कारण देशको अवस्था झन् खराब हुन थालेको प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताउनुभएको छ । उहाँले कोभिडले देशको अवस्थामा धेरै खराब भएको बताउँदै जुलुस र भीडभाडले ठूलो क्षति निम्त्याउने चेतावनी दिनुभयो । ‘यसले ठूलो क्षति हुनेवाला छ, यो क्षतिलाई रोक्न जुलुस नगरौं । काठमाडौंसहितका घना बस्तीमा कोभिड–१९ को सङ्क्रमण बढेको छ’, उहाँले भन्नुभयो, ‘अवस्था धेरै खराब भएको हामीले आङ्कलन गरेका छौं ।’ उहाँले ६० वर्ष नाघेका र दीर्घ रोगीहरुलाई घर बाहिर ननिस्किन पनि अपिल गर्नुभयो । ‘६० वर्ष पुगेका कोही पनि घर बाहिर ननिस्किनु होला, मधुमेह रोगी, फोक्सो र मुटुसहितका बिरामीले घरबाट ननिस्किनु होला’, उहाँले थप्नुभयोे, ‘केही दिनका लागि तपाईंहरु घरमै बस्नुस् । घरबाट बाहिर निस्कनै परेमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नूहोस् ।’

यसमा तपाइको मत

अन्य समाचार