काठमाडौं
भाद्र ३० ।
गएको चैत ११ गते बन्द भएको आन्तरिक हवाई उडान, होटल र लामो दुरीको यातायात असोज १ गतेबाट खुल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी बिहीबारदेखि यी सेवाहरु सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
ज्ञवालीले मंगलबार अयोजित पत्रकार सम्मेलनमा आवश्यक सुरक्षा मापदण्ड लागु गरेर आन्तरिक हवाई उडान शुरु गर्ने निर्णय गरिएको बताउनुभयो । यस्तै सरकारले होटल पनि आगामी बिहीबारदेखि पूर्णरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । अहिले होटलमा टेक अवे सेवामात्र सञ्चालन रहेको थियो । अब पूर्णरुपमा होटल खुल्नेछन् । तर, सुरक्षा र स्वास्थ्य मापदण्ड भने पुरा गर्नुपर्ने छ ।
यस्तै गएको चैतदेखि बन्द रहेको लामो दुरी तथा एकजिल्लाबाट अर्को जिल्लाका लागि सेवा दिने सार्वजनिक यातायात पनि आगामी बिहीबारदेखि सञ्चालन गर्ने निर्णय गरिएको छ । यातयात व्यवसायीले सरकारले निर्णय नगरे आफैँले यातयात सञ्चालन गर्ने चेतावनी दिएका थिए ।
यस्तै हालै अर्थमन्त्रीबाट राजीनामा दिएका डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहाकार नियुक्त गरिएको छ । सोमबार सबेको मन्त्रिपरिषदको बैठकले उहाँलाई विशेष सल्लाहाकारका नियुक्त गरेको हो । डा. खतिवडालाई मन्त्री स्तरको सेवा सुविधान दिने गरी विशेष आर्थिक सल्लाहाकार नियुक्त गरिएको ज्ञवालीले बताउनुभयो ।






