थप एक हजार चार सय ५९ जनामा सङ्क्रमण, एक हजार ६२ डिस्चार्ज

काठमाडौं
भाद्र ३० ।

थप एक हजार ४ सय ५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप एक हजार ४ सय ५९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित मिडिया ब्रिफङमा जानकारी दिनभएको हो । यो एकैदिन नेपालमा देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या हो । योसहित नेपालमा कोरोना सङ्क्रमित हुने को सङ्ख्या ५६ हजार ७ सय ८८ पुगेको छ भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ७ सय ७९ रहेको छ ।

मंगलबार थप एकहजार ६२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसहित नेपालमा ४० हजार ६ सय ३८ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । पछिल्लो समय देशभरका प्रयोगशालाहरूमा १० हजार ३ सउ ७५ जनाको पीसीआर परीक्षण गरिएको छ । मंगलबारसम्म ८ लाख ६१ हजार ७ सय ८० जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन ८ हजार १ सय ३९ जना र होम आइसोलेसनमा ७ हजार ६ सय ४० जना छन् भने ७ हजार २ सय ५० जना क्वारेन्टिनमा छन् ।

देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ भने १ सय ७४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । बागमती प्रदेशमा १ सय २३ जना छन् ।

काठमाडौं उपत्यकामा मंगलबार ६ सय ७६ कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ५ सय ५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ कोरोना सङ्क्रमित थपिएका हुन् । जसअनुसार काठमाडौंमा १ सय ६९ महिला र ३ सय ८६ पुरुष, भक्तपुरमा ३७ महिला र ४९ पुरुष, ललितपुरमा १६ महिला र १९ पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो ।

योसँगै उपत्यकामा कोराना सङ्क्रमितको सङ्ख्या १२ हजार ९ सय २४ पुगेको छ । काठमाडौंमा १० हजार ५ सय ८३ ललितपुरमा एक हजार २ सय २६ र भक्तपुरमा एक हजार १ सय १५ सङ्क्रमित पुगेका छन् । सोमबार उपत्यकामा ५ सय १२ जना सङ्क्रमित थपिएका थिए ।
यस्तै ओखलढुङ्गा, खोटाङ, ताप्लेजुङ, पाँचथर, भोजपुर र सङ्खुवासभामा एक–एक, झापामा ६, मोरङमा १ सय ११, सुनसरीमा १७, धुनषामा ६, पर्सामा एक, बारामा तीन, महोत्तरीमा नौ, सप्तरीमा २४, सर्लाहीमा चार, सिरहामा १ सय ६२, काभ्रेमा आठ, चितवनमा ३७, दोलखामा पाँच, धादिङमा चार, नुवाकोटमा दुई, मकवानपुरमा ८७, रामेछापमा दुई, सिन्धुपाल्चोकमा एक, कास्कीमा सात, गोरखामा पाँच, तनहुँमा नौ, नवलपरासी पूर्वमा २१, मनाङमा एक, लमजुङमा चार स्याङजामा १४, अर्घाखाँचीमा तीन, गुल्मीमा तीन, दाङमा २६, नवलपरासीमा तीन, पाल्पामा १६, बर्दियामा एक, बाँकेमा २७, रुपन्देहीमा ५१, दैलेख र सल्यानमा दुई–दुई, सर्खुेतमा २३, कञ्चनपुरमा आठ, कैलालीमा ११, डोटीमा ११, दार्चुलामा तीन, बझाङमा दुई र बैतडीमा आठ जनामा मंगलबार कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ३ सय ७१ पुगेको छ । सातवटा जिल्लाका चार महिला र सात पुरुषगरी ११ जनाको मृत्यु भएको हो । काठमाडौंमा मात्र चार जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

सर्लाहीमा ६४ वर्षीय पुरुष, सिरहामा ३५ वर्षीया महिला, बारामा ५५ वर्षीया महिला र ५५ वर्षीय पुरुष, काठमाडौंमा ६ वर्षीया बालिका, ३४, ९६ र ६६ वर्षीय पुरुष, मकवानपुरमा ६१ वर्षीय पुरुष, रुपन्देहीमा ६४ वर्षीया महिला र कपिलवस्तुमा ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । सोमबार १५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार