काठमाडौं,
भाद्र २८ ।
जोगी संन्यासी व्यक्तिकति सांसारिक माया मोहमा फर्किएलान् ? यस्तै विषयवस्तु समेटेर तयार पारिएको ‘उदासी’ गीतसहित गायक थिरज राई दर्शकमाझ आएका छन् । टीएन एस पीएमले यो गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरेको छ । यो गीतका रचनाकार तथा सङ्गीतकार घनश्याम राई हुन् ।
प्रकाश लिम्बूले निर्देशन गरेको भिडियोमा जोन पुलामी मगर, अंशु गर्बुजा मगर र अनिता थापालगायतले अभिनय गरेका छन् । यसको पोस्ट प्रोडक्सनको काम रेन्बो रेन्जले गरेको छ ।
गायक राईले यो गीतमा कोही पनि प्रकृतिविरुद्ध जान नसक्ने विषय समेटिएको बताए । यही विषयवस्तुमा भिडियो तयार पारिएको अभिनेता मगरको भनाइ छ । उनका अनुसार जोगी बनेका व्यक्तिको प्रेम सम्बन्धलाई भिडियोमा देखाइएको छ ।
गायक राईको यस अघि ‘गाँजलु आँखा…’ गीतको भिडियो सार्वजनिक भएको थियो । ‘गाँजलु आँखा गीतको भिडियो बनाएपछि लामो समय सङगीत तथा सङ्गीत संयोजनतिर लागें’, उनले भने, ‘अहिले आधुनिक गीतसहित आएको छु ।’
उनका ‘यता टाले उता फाट्छ…’, ‘कलियुग…’, ‘लाहुरेको जिन्दगी…’लगायत गीत चर्चित छन् । उनले ‘अघिपछि…’, ‘कलियुग…’ र ‘निमन्त्रणा…’ तीन गीति एल्बम प्रकाशन गरिसकेका छन् । झन्डै २० वर्षदेखि साङ्गीतिक क्षेत्रमा क्रियाशील उनका एक सयभन्दा बढी गीत रेकर्डेड छन् ।






