कोरोनाको उपचारमा आयुर्वेदिक औषधिको सम्भावना बारे छलफल

काठमाडौं,
भाद्र २१ ।

विश्वव्यापि रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को सङक्रमण बढीरहेको र आधुनिक चिकित्सा विधिबाट खासै समाधान निस्कन नसकिरहेको अवस्था छ । यही मौकामा केही व्यक्तिहरूले जडीबुटी औषधिकोबाट कोरोनाको ग्यारेण्टी उपचार गर्छु भनेर हल्लाबाजी गरिरहेका छन् । जसले गर्दा आम सर्वसाधारणलाई अन्यौलता सृजना हुने गरेको पनि छ ।

यसै सन्दर्भमा नेपाल परम्परागत आयुर्वेदिक चिकित्सा व्यवसायी सङ्घका अध्यक्ष वैद्यराज मधुवज्र वज्राचार्यले एक विज्ञप्ति जारी गरी सम्बन्धित पक्षलाई सचेत गराउनु भएको छ । केही व्यक्तिहरूले कोरोना भाइरसलाई ग्यारेन्टी निको गर्न सकिन्छ भन्ने खालको अभिव्यक्ति दिएको प्रति वज्राचार्यको विज्ञप्ति केन्द्रित रहेको छ । यस्तो संवेदनशील विषयमा आएका त्यस्ता अभिव्यक्तिप्रति आफ्नो संस्थाको ध्यान आकर्षित भएको व्यहोरा वैद्यराज वज्राचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उपचार नै गर्न सकिन्छ भने संबन्धित निकायसँग समन्वय गरी अघि बढ्नु उचित हुने कुरालाई जोड दिँदै विज्ञप्तिमा समन्वय विना आफूखुशी यस्तो अभिव्यक्ति दिनु परम्परागत आयुर्वेदिक चिकित्साको मुल्यमान्यता विपरित भएको समेत उल्लेख छ ।

यसै सन्दर्भमा कोभिड-१९ अर्थात कोरोना भाईरसको निवारणको लागि आयुर्वेदिक औषधिको सम्भावनाको बारेमा एक कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समयमा यसको उपचारमा आयुर्वेदिक औषधिबाट समाधान निस्कन सक्छ भन्ने आशा पलाइरहेको अवस्थामा जुम प्रविधिबाट सो अन्तरक्रिया कार्यक्रम भएको हो ।

आयुर्वेद चिकित्सक, परम्परागत आयुर्वेदिक वैद्यराज एवम् वैद्यहरू र विभिन्न सरोकारवाला सङ्घसंस्था एवम् निकायका प्रतिनिधिहरूको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको वैद्यराज दीपक सुवेदीले बताउनु भएको छ । सो कार्यक्रममा आयुर्वेदिक चिकित्सक (डाक्टर), वैद्यराज, वैद्य, स्वास्थ्यक्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तिलगायत एकसय सन्ताउन्न जनाको सहभागिता रहेको बताइएको छ । जुम प्रविधिमार्फत गरिएको सो कायक्रममा छ वटा कार्यपत्र प्रस्तुत भएका थिए । कार्यपत्र प्रस्तोता र अन्य वक्ताहरूले कोरोनाजस्ता सङ्क्रमणजन्य रोगहरूको महामारीमा आयुर्वेद पद्धतिबाट गर्नसकिने उपचारको सम्भावनाको बारेमा विभिन्न कोणबाट आयुर्वेद सिद्धान्त तथा उपदेशका आधारमा आफ्नो दृष्टिकोण राखेका थिए ।

यसरी कार्यपत्र प्रस्तुत गर्ने तथा अभिव्यक्ति राख्नेहरूमा नेशनल आयुर्वेद रिसर्च सेन्टरका प्रमुख डा. निर्मल भुसाल, महिला रोग विशेषज्ञ डा. सरिता श्रेष्ठ, आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष डा. प्रकाश ज्ञवाली, परम्परागत आयुर्वेद चिकित्सा व्यवसायी सङ्घका सचिव वैद्य सुमिर रिमाल, सोही संस्थाका वैद्य मञ्जिब शाक्य, गण्डकी प्रदेश आयुर्वेद विशेषज्ञ डा. बुद्धिप्रसाद पौडेल, ॐ आयुर्वेद आरोग्यशालाका वैद्यराज दीपक सुवेदी र लुम्बिनी प्रदेशका आयुर्वेद प्रमुख डा. पुष्पराज पौडेल हुनुहुन्थ्यो ।

कार्यक्रम शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय र प्राथमिक स्वास्थ्य स्रोत केन्द्रको आयोजना तथा नेपाल शिक्षा अनुसन्धान नेट्वर्कको सहयोगमा प्रा. स्वा. स्रो. केन्द्रका अध्यक्ष शान्तलाल मुल्मीको अध्यक्षता र सोही केन्द्रका चन्द्राकिरण श्रेष्ठको मोडरेटरिङ्गमा भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार