✍️ लेखनाथ पोख्रेल
महङ्गो ब्याजमा आसामीलाई पैसा लगानी गर्ने गाउँको एकजना मुखियालाई डाँडापारीको एउटा राईले सारै ननिको मान्छे ठानेको रहेछ । विक्रम सम्बत् २००७ सालको क्रान्ति पछि प्रजातन्त्र आयो भन्ने सुनेको उसले, कांग्रेस बनेर मुखियालाई हायलकायल गराउने एउटा जुक्ति निकालेछ । बाटो ढुकेर बसेको उसले एक दिन, दशैंको बोकाको गर्दन छिनाल्न तरेझैंगरी त्यो मुखियालाई जुकेखोलामा तरेको खबर गाउँमा फैलियो । गर्दन छिनाल्ने काम भने उसले गरेको थिएन । त्यो बेलादेखि नै हो, ऋषिमुनिका पालादेखि चल्दैआएको श्रापको आकार–प्रकार र प्रकृति बदलिएको । भन्न थालियो-‘तेरो घरमा कांग्रेस पसोस्’ । बदलिँदो परिवेशको श्राप थियो त्यो । त्यही कांग्रेसले २०१५ सालको पहिलो आमचुनावमा विजय हासिल गरेको थियो ।
ती दुवै राजनीतिक घटनाले पूर्वपहाडका मानिसको सोचमा ठूलो परिवर्तन ल्याएको थियो । नयाँ शासन पद्धतिसँगै, छुवा–छुत र जात–पातजस्ता कुरीति हट्नुपर्छ, शोषणको अन्त्य हुनुपर्छ भन्ने मानसिकताको विकास हुन थालेको थियो । त्यो सोचसँगै परम्परागत उच्चजातिको मध्यम वर्गीय परिवारमा एउटा भयानक विकृति पस्यो । त्यो थियो रक्सीको प्रचलन । त्यो विकृतिको दुरगामी प्रभाव पछिल्लो पुस्तासम्म पनि कायम रह्यो । त्यो अवधिमा जन्मिएको एउटा सिङ्गो पुस्ता पछिल्लो समयमा जाँड, रक्सीमा चुर्लुम्मै डुब्नपुग्यो ।
बुढा-पाका भने, समाजमा बढ्दैगरेको असंयमित खानपान र रहनसहनको कारण बिग्रिँदो सामाजिक व्यवस्था देखेर चिन्तित थिए । छोरा, नातिले यदि यही गाउँमा नै बसिरहनुपर्ने परिस्थिति आइप¥यो भने, भविष्य सुरक्षित हुनेछैन भन्ने कुरा उनीहरुले बुझेका थिए । त्यही सोचको परिणाम नै हो, खार्पाली पोखरेलहरुले आ–आफ्ना अनुकुलता अनुसारको ठाउँको छनौट गरेर, छोराहरुलाई भोजपुर, ओखल्ढुङ्गा, जनकपुर, काठमाडौं पढ्न पठाउन थालेका हुन् । छोरीलाई पनि शिक्षित बनाउनुपर्छ भन्ने सोच नभएको होइन तर उनीहरूको सुरक्षाको उचित व्यवस्थापन हुन नसक्ने बुझेर आमाहरुले पनि मुख खोल्न सकेनन् । पूर्व पहाडका सबभन्दा सम्पन्न,सचेत र शिक्षित मानिने पोखरेल वंशका छोरीहरूले धेरै पछिमात्र पढ्ने मौका पाए, त्यो पनि जागिरे बाबुका छोरीहरूले मात्र । पोखरेल वंशका मूलीहरूको त्यो बेलाको सामूहिक निर्णय पछि २०१६ सालमा शरज दाइ र म सगरमाथा हाईस्कुल ओखलढुङ्गामा कक्षा सातमा भर्नाहुन पुग्यौं ।
अग्ला-अग्ला घर । ढुङ्गा छापेको बाटो । जस्तो सामान खोजे पनि पाइने । ओल्लो र पल्लो दुइटा बजार भएको, कस्तो मज्जाको ओखलढुङ्गा । दुइटा बजारको बीचमा नाकेडाँडा । नाके डाँडाको पाखामा भएको हुलाक घर । हुलाक घरभन्दा माथि हामी पढ्ने सगरमाथा हाईस्कुल । स्कुलभन्दा माथि थियो ठुलो टुँडिखेल । टुँडिखेलको एक छेउमा नै थिए माल अड्डा र अदालत । त्योभन्दा मास्तिर थिए पुलिस ठाना र जलबायु मापन केन्द्र । टुँडिखेलबाट ओल्लो बजार झर्ने फराकिलो ढुङ्गा छापेको बाटो । त्यो बाटो भएर तलतिर झर्दा भेटिन्थ्यो नेपालको झण्डा गाडेको बडाहाकिमको निबास । निबाससँगै थियो सरकारी डिस्पेन्सरी । डिस्पेन्सरीमा काम गर्ने एउटा उल्याहा कम्पाउण्डर थियो । उसलाई सबैले डाक्टर भन्थे । नम्बरी गफाडी थियो ऊ । शुक्रबारको दिन उसले त्यो बाटो भएर हिड्ने स्कुले भुराहरूलाई आफ्नो अफिसमा जम्मा गरेर खुब हँसाउने गथ्र्यो । एक दिन उसले नहाँस्नेजति सबलाई हँसाइदिन्छु भन्दै, एउटा बोतल निकालेर सबको नाक नाकमा पुर्याएर सुघ्न लगायो । सुघिसक्न भ्याएको पनि थिएन, त्यहाँ भएजत्ति बच्चाहरु राल सिङ्गान चुहुनेगरी हाँस्न थाले । त्यो रहेछ ‘लाफिङ्ग ग्यास’ ।
डिस्पेन्सरीभन्दा केही तल थियो रामलालको चिया पसल । चिया पसलमा दिउँसो पाइने भुटेको आलु, चिया र सेल रोटीको बारेमा त मलाई थाहा थियो । साँझपख पनि त्यहाँ देखिने मान्छेको भीडको रहस्य भने मैले बुझेको थिइन । उसले कोदो र चामलको तीनपानेदेखि कुखुराको मासुको ब्यबसाय पनि त्यही चिया पसलभित्र गर्छ भन्ने कुरा भोला दाइ काठमाडौंबाट आए पछि मात्र थाहा पाएको थिएँ । भोला दाइले भन्ने गर्थे । बुझिस भाइ, रामलालको चियापसल साँझपरेपछि नोट छाप्ने टक्सार बन्छ । रुपैयाँ त कति..कति.. ओइरो नै लाग्छ नि !
ओखलढुङ्गा नाम कसरी रहन गयो भन्ने सम्बन्धमा, एउटा ऐतिहासिक घटनाको उल्लेख सुनिन्छ । माझकिरातको दूधकोसी पश्चिमको क्षेत्रलाइ आफ्नो राज्यमा गाभ्नकोलागि राजा लक्ष्मीनरसिंह मल्लको पालामा काजी भीम मल्लको नेतृत्वमा गएको फौजले किराँतीहरुसँग भीषण युद्ध लडेको थियो । लडाइँको त्यो क्रममा लक्ष्मीनरसिंहको फौजको रसदपानी सबै सकिएर धानमात्र बाँकी रहन गएछ । धान कुट्ने साधन खोज्दै जाँदा, ओखल आकारको खोपिल्टो परेको एउटा ठुलो ढुङ्गा फेला परेछ । त्यो ढुङ्गामा धान कुटेर खाएपछि उनीहरुले किराँत राज्यमाथि विजय प्राप्त गरेका थिए । त्यसपछि त्यो ठाउँको नाम ओखलढुङ्गा रहन गएको हो भन्ने पाइन्छ ।
हामीले पढ्नेबेलासम्म पनि मित लगाउने चलन पहाडमा खुवैचलेको थियो । हाम्रो बालाई अरू काम गर्न जति जाँगर चल्थ्यो, मित लगाउन त्यत्तिकै जाँगरिलो हुनुहुन्थ्यो । उहाँका थुप्रै मित थिए । गाउँमा लत्ताकपडा बेच्ने एकजना धुलीखेले व्यापारी बर्षमा तीन चार पटक आउने गथ्र्यो । उसलाई धुलीखेले साहु भन्ने गर्थे । साहु शब्द मलाई सानु उमेरदेखि नै पटक्कै मन पर्दैनथ्यो । गाउँघरमा पिराहा मान्छेलाइ साहु भनिन्थ्यो । उसको नाम भने तुइचा थियो । प्रत्येकपटक आउँदा उसँग एउटा ध्वाँसे अनुहारको भरिया हुन्थ्यो । उसको नाम थियो हाकुचा । तुइचाले एकपटक हाम्रो बासँग मित लगाउने कुरा उठाएको थियो । बाले हैट… भन्दै मान्नुभएन । मित लगाउन सधैं रहर गर्ने हाम्रो बालाई त्यो ब्यापारीसँग किन मित लगाउन मन नलागेको होला ? भन्ने लाग्थ्यो । तुइचा भनिने उसको नाम पनि त अचम्मकै थियो !
तुइचा भन्ने के होला भन्ने खुल्दुली मेरो मनमा सुरु भयो । त्यस्तो कुराको जानकारी बा बाहेक अरु कसैलाई होला भन्ने कुरा मेरो मनमा पस्ने कुरै थिएन । आफूले नजानेजत्ति कुरा जान्ने कि त राजा कि त हाम्रो बा । ब्यापारी अर्को गाउँतिर लागेपछि मैले बालाई सोधेको थिएँ, ‘बा तुइचा भनेको के हो’ ? बाले अक्मकिंदै भन्नु भयो ‘पर्खी, अर्कोपटक आउँदा उसैलाई सोधौंला’ । त्यो कुरा मेरो लागि अप्रत्यासित थियो । बालाई पनि थाहा नभएको त्यो नामको मतलब के होला भन्ने खुल्दुलीले मभित्र रडाको मच्चाउन थाल्यो । त्यो कुतुहल मेटिन दुई महिना पर्खनुपरेको थियो । दुई महिना पछि हाम्रो घरमा आइपुगेको उसलाई सोद्धा, उसले भन्यो- नेवारी भाषामा तुइचा भनेको त गोरे पो अरे । अनि हाकुचा भनेको काले अरे । मन मनमा लाग्यो, हाम्रो बा सारै जान्ने । त्यस्तो नाम नै नबुझिने, जाबो ‘तुइचा’ भन्ने मान्छेसँग के को मित लगाउने ! म बाको फ्यान त छंदै थिएँ । मित नलगाएर ठीक गर्नु भएछ भन्ने लागेको त्यो दिनदेखि म हाम्रो बाको माहाफ्यान बन्न पुगेको थिएँ ।
बाले ओखलढुङ्गामा पनि खत्री थरको एकजना बहालवाला पुलिसको असईसँग मित लगाउनु भएको थियो । उनको पोस्टिङ भने सोलुखुम्बुमा थियो । घरमा श्रीमती र तीनोटी बहिनीहरु थिए । तीनओटै मित फुपूहरुले हामीलाई औधि माया गर्थे । कोठा सफा गरिदिने, भाँडा माझिदिनेदेखि लुगा धोइदिनेसम्मका सबै काम गरिदिन्थे । भात पनि पकाइदिन्थे होलान । उनीहरुको थर खत्री थियो । पकाएका अरु सबै कुरा त चल्थ्यो । तर, भात खाएमा जात जाने भएकाले आफैँ पकाउनु पर्ने हुन्थ्यो । उनीहरुको र हाम्रो खाना पकाउने चुलो साझा थियो । खाना खाएर छिट्टै स्कुल जानुपर्ने भएकोले भान्सामा पहिले हाम्रो खाना बन्नेगथ्र्यो । धोती नफेरी पकाएको भातखाँदा जातजाने भएकाले, हामी दाजुभाइले पालोपालो खाना पकाउने गरेका थियौं । मामाघर खोटाङ्गमा लामो समय बसेर आउनुभएको दाजुलाइ भने धोतीफेर्ने काम काउछो लागेसरह हुन्थ्यो । दाजुको खाना बनाउने पालो परेको दिन, जातजाला भन्ने डरले मैले बडो होस पु¥याउनु पथ्र्यो । म छेउछाउमा छैन भन्ने यकिन भयो भने, बाहिरभित्र पल्याकपुलुक गर्दै, मितफुपूलाइ खाना पकाउन लगाउन बेरलाउनु हुन्नथ्यो ।
त्यो बर्षको अर्धबार्षिक परिक्षा सकिदा दिउँसोको एक बजीसकेको थियो । ठोट्नेखोला र सिस्नेखोला बाढीले वारपार भएको छ भन्ने सुनेकाले हामी हत्तपत्त झोला टिपेर घर जानकोलागि माथिल्लो बाटो लागेका थियौं । तलुवा गाउँमा बासबस्न पुगेमात्र भोलीपल्ट बिहानको खानाखान घरपुगिने भएकाले हामी हिंडीराखेको हैन कुधीराखेका थियौं । तलुवा पुग्दा झमक्क साँझ पर्यो । बाटोमुनीको एउटा घरको टाँडमा हामीले बास पायौं । रामलालको पसलबाट किनेर, झोलामा बोकेको सेलरोटी, चिउरा र तरकारी खाएर, घरधनीले दिएको राडी ओच्छ्याएर सुत्यौ । रात छिप्पिदै गयो, निद्रा पर्नसकेन । जिउ चिलाउन थाल्यो । उत्तानुपर्दा पनि भएन । घोप्टेपर्दा पनि भएन । कोल्टेफेर्दा पनि भएन । जता फर्कियो त्यतै चिलाउँथ्यो मात्र । शरीर भतभतती पोल्न थाल्यो, केको निद्रा लाग्नु । के रै’छ त्यस्तो चिलाउने कुरा भनेर छाम्न थालेको त रगत खाएर अघाएका पोटिला उडुस पो प्याट, प्याट मर्न थाले । टर्च बालें । भित्ताबाट ताँतीलागेर झरेका उडुस देख्द म त काहालिये पो । त्यत्ति धेरै उडुस मैले कहिल्यै देखेको थिएन । त्यो रात उडुस मारेरै बित्यो । मिर्मिरे उज्यालो पनि हुननपाउदै भूतले लखेटेझैँगरी झोला च्यापेर कुधेका हामी रभुवामा पुगेर दुधकोशीमा नुहाएपछि मात्र सासफेर्न पाएजस्तो भएको थियो । रातभरीको अनिधो, हिड्न सकेको भए पो ! घर पुग्दा मध्यान्ह भइसकेको थियो ।
पहाडका स्कुलमा पढाउने मास्टर पाइदैनथ्यो । हाईस्कुलको हेड मास्टर बन्नकोलागि स्नातक नभई हुँदैनथ्यो । स्नातक भएकाजति लोकसेवामा जाँच दिएर हाकिम बन्थे । कि त काठमाडौंभन्दा बाहिर निस्किन मान्दैनथे । देशभरिमा औंलामा गन्न सकिने स्नातक भएको त्यो बेला पहाडको स्कुलमा पढाउन को आउने ? शिक्षित मानिने हाम्रो गाउँ खार्पामा त्यो बेला जम्माजम्मी तीनजना स्नतक थिए । इन्जिनियर वीरेन्द्रकेशरी पोखरेल । एम.पी. मणिराम पोखरेल । बि.डी.ओ. तेजप्रसाद उपाध्याय । आई.ए.पास गरेको मानिस नभेटेकोले हाम्रो गाउँको मिडिल स्कुल शिक्षक बिहीन थियो । देशभित्र पढाउने मानिस नपाइने भएकाले, धेरै तलब र सुबिधा जुटाइदिने आस देखाएर भरतका शिक्षित बेरोजगारलाई नेपाल भित्त्र्याउनु पर्ने बध्यता थियो । कोर्सका किताब नेपालीमा पाइदैनथ्यो । हिन्दीमा छापिएका बनारसी किताब पढ्नुपथ्र्यो । भारतीय मास्टरले आधा नेपाली र आधा हिन्दीमा पढाउने भएकाले ट्युसन पढ्नु पर्ने बाध्यता हुन्थ्यो । नेपालको शिक्षण पेसाको हालीमुहाली भारतीयहरुको हातमा जानु स्वाभाविक बन्न पुग्यो । कक्षा आठको ट्युसन भने हामी दाजु भाइले भीमसरसँग पढ्ने निधोग¥यौ । भीमसरले पढाउन त राम्रो पढ़ाउंथे, त्यसमा कुनै शङ्का थिएन । तर, उनकोमा जानुको अर्को एउटा कारण भने अलि फरकखालको थियो । भीमसरको घरमा खोपाभरिको एउटा ठुलो मर्फी रेडियो हुने गथ्र्यो । ट्युसन सुरुहुन्थ्यो सात बजे । हामी रेडियो सुन्नको लागि छ बजे नै पुगिसकेका हुन्थ्यौं । हामी पुग्दा रेडियोले बेलाबेलामा ‘ये रेडियो सिलोन है’ भन्ने गथ्र्यो । त्योसँगै बज्ने गथ्र्यो ‘दो हंसोका जोडा बिछड गयो रे’ भन्ने फिल्म गंगा जमुनाको गीत । एक दुइटा फिल्मी गीत सुनेर ट्युसन पढ्नुको मज्जै अर्कै !
२०१७ सालमा राजा महेन्द्रले संसद ‘कू’ गरेसँगै मणिराम दाइको एम.पी. पद चैट हुनपुग्यो । भोला दाइ काठमाडौंबाट ओखलढुङ्गा आए । मान्छे उटपट्याङ्ग त थिए नै । उनको आगमन भनेको, एक खालको हुरीबतास आएसरह हुन्थ्यो । भीउसिने बोकाकोजस्तो वो..वो..वो..को आबाज निकाल्ने । नाकले एकतारे बजाउँदै ‘भए प्रकट क्रिपाला’ भन्ने भजन गाउने । हार्बिन (हार्मोनियम) बजाएर ‘हरे राम..हरे राम..’ गाउन उस्ताद थिए ।
सुन्तला पाकेको बेला एकपटक हामी चार पाँचजना सुन्तला खान ओखलढुङ्गाबाट रुम्जाटार जाँदा भोलादाइ पनि साथमा थिए । गुरुङजातीको बस्ती भएको रुम्जाटार राडीको लागि मात्र नभएर सुन्तलाको लागि पनि प्रख्यात ठाउँ हो । सम्भ्रान्त नामको ओढ्ने ओढेर आफुलाई खुम्च्याएर राख्ने समुदाय भन्दा भिन्न स्वभावका हुन्छन गुरुङजाती । आफुलाई खुम्च्याएर राख्न जानेका हुँदैन उनीहरुले । स्वतन्त्र भएर हाँस्ने खेल्ने र बोल्ने उनीहरुको संस्कार र संस्कृति हो । छिल्येर गफगर्न औधी सिपालु हुन्छन गुरुङसेनीहरु । खुलेर ठट्यौली गर्ने स्वभाब भएका उनीहरुले त्यसलाई चोखो माया भन्ने गर्छन ।
लटरम्म सुन्तला फलेको एउटा घरमा हामीहरु पुग्दा त्यो घरको आँगनमा एकजना महिला सुकुल बुन्दै थिइन । भोला दाइले हामीभन्दा अगाडि गएर ती महिलासँग सुन्तला मागेका थिए । भोलादाइको हाराहारीमा म उभिएको थिएँ । गुरुङसेनीले मपट्टीआँखा तेस्र्याएर भनिन, ‘हाउ ! कति राम्रो नानी आएछ ! हाम्री छोरीलाई पनि बीउ राखेर जा है, सुन्तला त्यत्तिकै दिन्छु’ ! म लाजले कक्र्याक कुक्रुक भएँ । भोला दाइको छुराजस्तो मुख चली त हाल्यो । ‘भाइ सानै छ । उसको साटोमा म छंदैछु नि ! बरू कतातिर पो जानु पर्ने हो बीउ राख्न ?’ …..’नकच्चरो बाहुन’ ! भन्दै, ती माहिलाले ठूलो डालोमा एक डालो सुन्तला टिपेर हामीलाई दिएकी थिइन । त्यो घर रहेछ हाम्रो सहपाठी चन्द्रकला गुरुङको । अग्लो कद, ठुल्ठुला हात पाखुरा । बान्की परेको अनुहार थियो चन्द्रकलाको । कक्षा आठमा पढ्ने उनीमात्र एकजना छात्रा थिइन । उनलाई बस्नको लागि केटाहरुभन्दा अलग कुर्सीको ब्यबस्था गरिएको हुन्थ्यो । क्लासमा हामी नजिकै बस्ने गथ्र्यौ । तर, रुम्जाटारबाट सुन्तला खाएर आएको दिनदेखि छेउमा बस्ने कुरा त परै जाओस मैले चन्द्रकलाको मुखसम्म पनि हेर्न छोडिदिएँ ।
रुम्जाटारबाट फर्केको केही दिन पछिको कुरा हो । एउटा हातमा कपडाको थैलो, अर्को हातको काखीमुनि कागजको एउटा पोको च्यापेर हाम्रो डेरामा आइपुगेका भोला दाइले, खुइय..गर्दै लिस्नुको टुप्पोमा आएर झोला बिसाए । म दलानमा बसेर पढ्दै थिएँ । नजिकै आएर भने, बुझिस् भाइ, थाक्नु थाकियो नि हौ आज ! भन्छस भने साइत पनि जुरेकै हो ! रामलालको पसलबाट निस्केको मात्र के थिएँ, यती लामो पुच्छर भएको लुइचेले च्वाट्ट बाटो काट्यो ! लखेट्दा लखेट्दा, पर भीरमा पुगेपछि बल्ल ढुङ्गाले हान्न भ्याएँ । लुइचे त्यहीं ठहरै पर्यो । लुइचे मरिसकेपछि पो, तैंले के भन्लास भन्ने पीर लागेर के गरौँ गरौँ भयो । खशीको माशु मात्र खानुपर्ने भोलादाइले त कुखुरा पो खान थालेछन कि क्या हो ? भन्ने पो ठान्नेहोस् कि जस्तो लागेर त्यही छोडौंजस्तो पनि नलागेको होइन । फेरि सम्झिएँ, आफ्नै भाइ त हो । बाहुनलाई लुइचे खान मिल्छ भन्ने कुरो उसले पनि अलिअलि बुझेकै छ ! जे पर्ला पर्ला भन्दै, रामलालकोमा फर्केर गएर पकाउन लगाएँ । ई हेर ! लुइचेको भुत्ला कस्तो हुन्छ भनेर चिनिराख्नु पर्छ भन्दै काखीमुनिको कागजको पोको खोले । त्यसमा लुइचेकाजस्ता रातापहेँला कुखुराका भुत्ला थिए । त्यो बेलासम्म हामीले खसीको मासु बाहेक अरु केही खानु हुँदैनथ्यो । भोलादाइले मलाई असाध्यै माया गर्ने भएकाले, हामी दुईको बीचमा एक अर्काले बोलेको कुरामा सहीथाप्ने मौन सहमति कायम रहन्थ्यो । त्यो सहमति अनुसार, म केही नबोली पढिरहें ।
भोला दाइले झिल्के अनुहार परेकी खाइलाग्दी साइँली मितफुपूलाइ इल्लीबिल्ली पार्दै मासु राख्ने कचौरा र सीसाको दुइटा ग्लास मागेर ल्याए । झोलाबाट मासु र एकमाने बोतल निकालेर बोतलको धमिलो पानी ग्लासमा खन्याए । कोठा ह्वास्सै गनायो । ‘रक्सी खाएको ! पर्खन, घर गएर भन्दिन्छु’ भने पछि भोला दाइले मलाई फकाएर चुप लगाए । दाजु र भोलादाई दुबैजना पँलेटी कसेर भैंमा ओछ्याएको सुकुलमा बसे । झोलामा भएको मासु र सिँगो एउटा बोतल चट पारेर सुतेका, भोलिपल्ट स्कुल जानेबेलामा मात्र उठे । मलाई भोलादाइले सुनाएको लुइचेको कथा पचीराखेको थिएन । रामलालको होटेलमा पुगेर आफ्नो उधारो खाता हेर्दा त त्यसमा चार प्लेट कुकुराको मासु र एकमाना चामलको तीनपाने लेखेको भेटें ।






