✍️ डा. डी आर उपाध्याय
कोरोना भाइरस (कोभिड-१९)को बढदो सङ्क्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा बिहीबारदेखि लागू भएको छ । कोरोना भाइरसका सङ्क्रमित दिनानुदिन बढ्दै गएपछि कोरोनाको ‘हटस्पट’ बन्दै गरेको उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको हो । उपत्यकामा २ हजार भन्दा धेरै सङ्क्रमित रहेको र कोरोनाले भयावह रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालयले कडा कदम चालेको हो । यो समयमा जिल्ला प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर निस्किए कारवाही गर्ने जनाउँदै आएको छ ।
निषेधज्ञाको पहिलो दिन अनावश्यकरूपमा घर बाहिर निस्किनेलाई सुरक्षाकर्मीले फुटपाथमै उभ्याएका थिए भने दोस्रो दिन काठमाडौंको जनजीवन ठप्प देखियो । दोस्रो दिन पनि सडकमा अत्यावश्यक बाहेकका सवारीसाधनलाई गुड्न दिइएको छैन । सडकमा अत्यावश्यक काम, खाद्यान्न बोक्ने सवारी र एम्बुलेन्स मात्रै गुडेका देखिन्थे । निषेधाज्ञा लागू गराउन ठाउँठाउँमा सुरक्षाकर्मी तैनाथ छन् । निषेधित क्षेत्र घोषणा गरेर मानिसलाई घरमै रोक्न सकेमा कोरोना सङ्क्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न सकिने भन्दै सरकारले यो कदम अघि बढाएको हो ।
दैनिक उपभोग्य वस्तुको पसलसमेत बिहान सात बजे नै बन्द गर्न दिइएको प्रशासनको आदेशले भने सर्वसाधारण असन्तुष्टि देखिएका छन् । कोरोना नियन्त्रणका लागि सरकारले चालेका हरेक कदममा जनताले साथ दिँदै आएका छन् । गत चैत ११ गतेदेखि साउन ७ गतेसम्म चार महिना लामो लकडाउनमा पनि जनताले साथ दिएकै हुन । जनताले सङ्क्रमण रोक्न भोकै भए पनि घरभित्रै बसे । सरकारलाई निशर्त साथ दिइरहे । सरकारसँग सङ्क्रमण रोक्ने न कुनै योजना छ, न दृढ इच्छाशक्ति नै देखिन्छ । कोरोनासँगै भ्रष्टाचार फैलिरहेको छ । सरकारले न कोरोना सङ्क्रमण रोक्न सकेको छ न यसको नाममा भइरहेका अनियमितता नै रोक्ने प्रयास गरेको छ ।
चार महिनाको लकडाउनले थिलै थिलो बनेको नागरिकको जीवनस्तरमा थप धक्का पुगेको छ । होटेल, रेस्टुराँ, पर्यटन, शिक्षा, हवाई क्षेत्र, कलकारखाना, व्यापार व्यवसायलाई लकडाउनले उठ्नै नसक्ने बनाएको छ । आर्थिक गतिविधि ठप्प छन । जुन कारणले गर्दा आमजनताको जनजीवन कष्टकर बन्दै गएको छ । यो कुरा सवैलाई थाहा छ । सर्वसाधारणले दैनिक जीवनयापन र साँझ-बिहानको हातमुख जोड्ने कसरी यो समस्या देखा परेको छ ।
कोरोनाबाट जोगिन सवैले सतर्कता अपनाउने, स्वास्थ्य सुरक्षामा ध्यान दिने यी नै महत्वपूर्ण कुरा हुन । हरेक नागरिकले सावधानी अपनाउने र स्वास्थ्य नियमको पालना गर्नुपर्ने जरुरी छ । जहाँ कोरोनाको सङ्क्रमण बढी देखिन्छ, त्यस ठाउँलाई सिल गर्ने, निषेधाज्ञा जारी गर्ने र सतर्कता अपनाउने जुन सरकारको नीति छ त्यो राम्रो कुरा हो । सवै नागरिकले आ-आफनो ठाउँबाट सरकारलाई सहयोग गरौं । लकडाउनमा हजारौंले रोगजार गुमाएका छन् । व्यापार व्यवसाय चौपट छ । आर्थिक मन्दी सुरु भइसकेको छ ।
सङ्क्रमितको सङ्ख्या बढेसँगै राजधानीमा अब आइसोलेसन वार्ड पनि पाउन कठिन छ । सङ्क्रमितहरू घरमै बसिरहेका छन् । अस्पतालमा भेन्टिलेटर र आईसीयू भरिभराउ भइसकेका छन् । कोरोना बाहिरबाट बोकेर ल्याए मात्र आफू वा परिवारमा छिर्ने हो । घरबाहिर ननिस्कनु नै यसबाट बच्ने सबैभन्दा ठूलो औषधि हो । तर, घरभित्र बसेर मात्र दैनिकी चल्दैन । त्यसो भएकाले प्रत्येक नागरिकले जोगिने र सतर्कता अपनाउनेतिर ध्यान दिनुपर्छ । भीडभाडमा नजाने, भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने र साबुनपानीले हात धुने विषयमा ख्याल गरौं । नेपाली नारीहरुको महान् चाड आज तीज घरमा बसेर नाचौं , बढी घुलमिल र भिड भाड नगरौ । बाँचे पछि संसार देखिन्छ । नेपाली नारीहरुको यो महान् चाड आज उनीहरुको लागी पक्कै खल्लो लागेको हुनुपर्छ । टाढा टाढा माइती भएका चेलीहरु माइती घर जान पाउनु भएको छैन । पक्कै दुःख लागेको छ । समय नै यस्तै छ के गर्ने ?
सबैजना घर घरमै र सिमित समुदायमा मात्र तीज मनाए यो वर्ष दिदी बहिनीले । सरकारले काठमाडौं उपत्यकाभित्र ४ भाद्रबाट १० भाद्रसम्म निषेधाज्ञा जारी गरेको छ । चार महिने लकडाउन (बन्दाबन्दी) साउन ७ गते अन्त्य गरियो तर, कोरोना सङ्क्रमित झन बढन थालेपछि अहिले निषेधाज्ञा गरिएको छ । सरकारी अधिकारीहरूले सार्वजनिक रूपमा सङ्क्रमण अझै पनि नियन्त्रणमै रहेको दाबी गरे पनि कोरोना सङ्क्रमणका पछिल्ला तथ्याङ्कले स्थिति भयाबहतर्फ उन्मुख देखिन्छ । सचेत रहौं घर भित्रै बसौं ।






