जस्तो कि भाइरल
- पेशल आचार्य
के भा’छ अचेल
यो समाजलाई ?
के भा’छ आजकाल
यी मान्छेहरूलाई ?
पोजेटिभ एप्रोचका विषयहरूभन्दा
नेगेटिभ एप्रोचका विषयहरू नै
रातारात भाइरल बनाइएका छन्
जस्तो कि –
पिसिआर् मेसिन खरिदका कुराभन्दा
मनैले जुट्न नसक्ने पार्टी एकताका कुरा
शैक्षिक–सत्र बङ्क भएका कुराभन्दा
जुम र गुगल मिटमा बैठक र कुलीन कक्षाका कुरा
समाजवादको पन्थभन्दा
रामराज्यका कुरा
लोकतान्त्रिक चरित्रभन्दा
स्वगुट बलियो बनाउने कुरा
पहिरोले बस्ती बगाएको कुराभन्दा
छापावाल सुन महँगिएको कुरा
विवेकशील मानिसभन्दा
झोले कार्यकर्ता र भोटर मात्रै महत्व भएको कुरा
श्रमजीवी पत्रकार बलराम बाँनियाको
सन्देहास्पद मृत्युका कुराभन्दा
रजतपटका कलाकार महानायक हुन् होइनन् भन्ने कुरा
निर्मलाका न्यायका कुराभन्दा
रञ्जनका कथित मनोरञ्जनीय कुरा
विवेकका कुराभन्दा
बकवासका कुरा
यी र यस्तै यस्तै
बेला न कुबेला
ठाउँ न ठहर
आत्मरति लिँदै भाइरल बनाइन्छन्,
समाज कतातिर जाँदै छ ?
मानिस कतातिर लम्कँदै छ ?
म यी यक्ष प्रश्नहरू काँधमा बोकेर
दुई दसकदेखि
कहिले सहर र कहिले गाउँ
लुखुरलुखुर भाँतीमा
सग्लो र विवादहीन
उत्तरदाता खोजिरहेछु ।।
—–
उस्तै उस्तै हुन्
- पेशल आचार्य
माक्र्सको काल्पनिक युटोपिया
र देशका मोनिटर अंकलको रामराज्य !
कुम हल्लाउने बढाबाको समाजवाद
र छोरी बुहारीलाई कार्यकारी बनाउने काइदा !
स्वास्थ्य बीमाका छली कुराभन्दा
र स्वास्थ्यमा सामग्रीमा कमिसन हसुरेका कुरा
चुनावी घोषणापत्र भन्दा
सनकी शासनका कुरा
रुपमा फरक भए पनि
सारमा उही र उस्तै उस्तै हुन्
जस्तो कि-
हात्ती र हात्ती छाप चप्पल !!!
—–
मौन छु
- पेशल आचार्य
मौन छु
वाचाल छु
अन्योल छु,
प्रश्नरहित छु
खोजरहित छु
जिज्ञासारहित छु,
अब कसैसँग
कुनै गुनासो छैन
अब कोहीसँग
रिसराग पनि छैन,
मैले आफ्नो मकसद्
कसैबाट पूरा हुने देखिनँ,
मौनतामा प्राप्त हुने आनन्द
जीवनमा
असीम लाग्दो रहेछ ।।






