दैवव्यपाश्रय चिकित्सा- ओझेलमा परेका विशेष चिकित्सा पद्धतिहरुको एक समुह

  • डा. किरण पौडेल

चिकित्सकहरु, स्वास्थ्यकर्मीहरुले स्टैथोस्कोप, रक्तचाप मापन यन्त्र, चिकित्सापत्र, तथा आ-आफ्ना विशिष्ट ज्ञान तथा चिकित्सा कर्मको लागि आवश्यक्ताको आधारमा उपयोगी सं-साधनको साथ हेल्थ सेन्टर, क्लिनिक, अस्पतालमा देखिनुहुन्छ र त्यसकै आधारमा चिकित्साकर्ममा चिकित्सकहरु लाग्नु भएको पाईन्छन । औषधिको प्रयोग गरेर, शल्यकर्म गरेर, बिना औषधि पनि सामान्य आहार-विहारको विचार गरेर वा यो कुनै पनि कार्य नगरी परामर्श मात्रै दिएर पनि चिकित्सा गर्ने विधि प्रायः सम्पूर्ण चिकित्सकहरुका लागि चिकित्सा पेशामा दिईने उपचारहरुमध्ये सामान्य पद्धतिमा पर्दछन् । यसप्रकारले गरिने चिकित्सा पद्धतिमा आहार-औषधको मात्रानुसार चिकित्सकले आफ्नो युक्तिको प्रयोग गर्दै चिकित्सा गर्ने गर्दछन । यो चिकित्सा पद्धतिमा प्रयोग हुने सामान्य विधि युक्ति तथा चिकित्सकहरु स्वास्थ्यकर्मीहरुको बुद्धि, ज्ञान, शिपको आधारमा गरिने चिकित्सा विधि हो ।

चिकित्सा पेशा यति मै सिमित छैन । यो अथाह ज्ञानको सागर हो । मनिसलाई असत्यबाट टाडा लैजानु र सत्यतथ्य ज्ञानको वोध गराउनु पनि मनको चिकित्सा पद्धति हो । धर्मगुरुहरुको प्रवचन सुन्नु, भक्तिमा लिन हुनु, वैज्ञानिक पद्धतिहरु बाट सिद्ध भएको विज्ञानको अनुभव हुनु, आफ्नो सेरोफेरोको वारेमा मानिसलाई सजग गराउनु पनि एक विशिष्ट चिकित्सा पद्धति नै हो । यो चिकित्सा पद्धतिमा मनको विषयलाई मध्यनजर गर्दै चिकित्सा गरिन्छ ।

चिकित्साको सिमा यतिमा मात्रै रुक्दैन । यो त केवल एउटा पाटो मात्र हो । दैविक शक्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको विश्वास हुदैन किनकि यो वैज्ञानिक सम्मत छैन र यो रुढीबादी परम्पराको उपज मात्र हो तथा यथोक्त वैज्ञानिक तथ्यहरु तथा अध्ययन भएको छैन भन्नेमा सबै स्वास्थ्य पेशाका बुद्धिजीवी वर्गहरु सहमत छन ।

दैवव्यापाश्रय चिकित्सा एक यस्तो चिकित्सा पद्धति हो जसको वारेमा विरलै कुनै चिकित्सकले सुनेका होलान् र विरलै यसको व्यवहारिक प्रयोगमा ल्याएका होलान् तर यसको क्षेत्र अरु मुख्य चिकित्सा पद्धतिको क्षेत्र भन्दा कम छैन । औषध–आहार तथा मनोगत व्याधिको चिकित्सामा सिमित परिधि बनाएर चिकित्सा गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अर्को चिकित्सा पद्धति सुपाच्य हुँदैन । त्यसकारण अहिलेको चिकित्सा पद्धतिमा दैवव्यापाश्रय चिकित्सा पद्धति आझेलमा पर्दै आएको छ । दैवव्यपाश्रय चिकित्सामा मन्त्रचिकित्सा, रत्नमणीहरु धारण तथा राम्रा, शुभ र मङ्गल हुने वस्तुहरुको शरीरमा धारण तथा प्रयोगद्वारा गरिने चिकित्सा, बलि चिकित्सा पद्धति, उपहार चिकित्सा पद्धति, होम चिकित्सा, नियम, प्रायश्चित, ‘स्वस्त्यन पाठ’ चिकित्सा पद्धति, गुरु मान्यजन, अभिभावकको आदरपूर्वक सम्मान–सत्कार, उपवास चिकित्सा पद्धतिहरु पर्दछन ।

यी चिकित्सा पद्धतिहरु आफैँमा अद्भुत र व्यापक छन् । यी विविध चिकित्सा पद्धतिहरुलाई अहिले पनि बिश्वब्यापी तथा हाम्रो समाजमा दैनिक व्यवहारमा कुनै न कुनै रुपले प्रयोग गरिएको छ । तर, यो पद्धतिमा अधिकांश स्वास्थ्यकर्मीहरु बेखबर छन् या वैज्ञानिक सम्मत छैन भनि विश्वास गर्दैनन् वा आफू वा आफन्तजनले प्रयोग त गर्छन तर भन्नलाई हिच्किचाउछन ।

जबदेखि योग चिकित्सा विधिको विश्व समाजमा वैज्ञानिक ढङ्गबाट प्रचार–प्रसार हुदैँ गयो तबदेखि मन्त्र चिकित्सा विधिले स्थान पाउन थाल्यो । मन्त्र उच्चार गरेर गरिने चिकित्सा आफैँमा उत्कृष्ट चिकित्सा पद्धति हो । मन्त्रको उच्चारण गर्ने शैलिहरु विभिन्न धर्मका धर्मगुरुहरुले पनि सिकाएको देखिन्छ । मन्त्रको सही उच्चारण र त्यसको प्रभावको बारेमा धेरै अध्ययन अनुसन्धान भईसकेको छ र हुँदै पनि छ ।

मन्दिर, मश्जिद, गुम्बा, चर्च, गुरुद्वारा आदि विभिन्न धर्मावलम्बीहरुका धार्मिक स्थलहरु हुन । यी पवित्र ठाउँहरुमा पुगेर धर्मावलम्बीले मन्त्र, ध्यान, प्रार्थना, पुजा, होम, जप तथा आ-आफ्नो धर्म विशेष कर्महरु गर्ने गर्दछन् । यो सम्बन्ध सम्पूर्ण मानिसहरुमा जुडेको छ । कोही यस परम्परागत विधिबाट अलग छैन । पवित्र स्थलमा बसेर मन्त्र उच्चारण गर्नाले मानसिक तनाव, मनोवसाद, भय, क्रोध, चिन्ता जस्ता मानसिक अवस्थाहरु, शब्द उच्चारणमा शुद्धता, शरीरमा भएको दुखाइहरु कम गर्नको लागि, काममा लगावता, मस्तिष्कमा सम्झने शक्तिको वृद्धि जस्तो शारीरिक र मानसिक प्रभाव हुन्छ । यो अनुसन्धानबाट प्रमाणित भएको विषय हो । हाल यो चिकित्सा पद्धति ‘च्यान्टिङ थेरापी’ को रुपमा प्रख्यात हुँदैछ । धर्मावलम्बीहरु जाने आ–आफ्नो देवालयहरु एक उत्कृष्ट चिकित्सालयको नमुना रुप नै हो ।

यस प्रकारको चिकित्सा विधिले शरीरमा सकारात्मक कम्पन्न ‘भाईव्रेशन’ उत्पन्न हुने तथा शरीरका प्रत्येक अङ्गहरु चलायमान हुने हुनाले मन्त्रको ध्वनि प्रभावले शरीरलाई हित गर्ने गर्दछ भनि प्रमाणित तथ्य सावित भएको छ । ध्वनि चिकित्सा पद्धति हाल ‘साउन्ड थेरापी’ को रुपमा विकसित भएको छ ।

हाल विभिन्न अवधारणाहरु मध्ये देवालयहरुको स्वरुपलाई चिकित्सकिय प्रयोजन हेतु नमुना चिकित्सालय रुपमा सृजनाको क्रम सुरु हुँदै गएको छ । यस चिकित्सा पद्धतिमा सङ्गीत विधि, नृत्य विधि, गान विधि, हास्य विधि, योग विधि र साधनाको विभिन्न उपायहरु अपनाई चिकित्साको रुपमा प्रस्तुत गरिन्छ । पश्चिमी समाजमा तिब्र रुपमा विकशित हुँदै आएको ‘म्युजिक थेरापी, डान्सिङ थेरापी, लाफिङ थेरापी, मेडिटेशन, योग थेरापी’ आदि अनेक चिकित्साका पद्धतिहरु यिनै चिकित्सा पद्धतिको विकसित रुप हो ।

दैवव्यपाश्रय चिकित्सामा लुप्त झै रहेको चिकित्सा पद्धति मणि रत्न तथा सुन्दर वस्त्रहरुको धारण एक विशेष चिकित्सा पद्धति हो । यो हाल आएर ‘जेम्स थेरापी या जेम्स स्टोन थेरापी’ एक वैकल्पिक ‘हिलिङ थेरापी’को रुपमा विकसित हुँदैछ । विभिन्न रत्नहरु तथा पत्थरहरुको प्रयोग गरेर गरिने चिकित्सा विधि मणिरत्न चिकित्सा विधि हो । यस प्रकारको रत्न तथा माला–हारहरुबाट चिकित्सा गराउँदा यसको प्रभावले शरीरमा रहने व्याधिहरुको नाश हुने मान्यता छ । यो जेम्स थोरापीको रुपमा प्रमाण बोकेर चिकित्सा विधि झैँ अगाडि बढ्दै छ । यस चिकित्सामा रत्न तथा मालाहरुमा हुने विशेष रङ्गको आधारमा कार्य गर्दछ । हाम्रो शरीरको ‘औरा’ मा मणि रत्नको आ–आफ्नो ‘भाईव्रेशन’ प्रभावले कार्य गर्दै ‘हिलिङ थेरापी’को रुपमा काम गर्ने प्रमाणित तथ्य हो । ‘कलर थोरापी’ पनि यसै विधिको अझै विकसित रुप हो ।

होम, पूजा-पाठ एक चिकित्सा विधिको रुपमा विकशित हुन सक्ने प्रचुर सम्भावना बोकेको पद्धति हो । हाम्रो समुदायमा होम, पूजा–पाठको विषयलाई केवल धार्मिक विषयसँग जोडिन्छ । तर, धर्मको अर्थ रक्षा पनि हो, तसर्थ होम पूजा–पाठ धार्मिक कार्य मात्र नभई उत्कृष्ट चिकित्सा विधि पनि हो । यो चिकित्सा विधि पवित्र समारोह हुँदा, मंगल कार्यको सुरुवातमा तथा शुभ कार्यमा प्रयोग गरिन्छ । होम कार्यमा विभिन्न वनस्पतिहरु जस्तैः आँक, पिपल, वर, पलाश, शमी, उदुम्वर, दुवो, कुश, बिल्व, आँपको पत्ता, तिल, घृत, जौ, चामल, खयर आदिको प्रयोग गरेर हवन गरिन्छ । यी वनस्पतिहरु कृमि, किराफ्याग्राहरु, वायुमण्डलमा रहेका हानिकारक जिवाणुहरु नाश गर्ने गुण हुन्छ । हवन गर्दा मन्त्रोचारण गर्दै हवन समिधा आगोमा राखिन्छ । यसले मन्त्र प्रभावबाट शरीरको हित, मनमा शान्ति उत्पन्न गर्ने, नकारात्मक सोचहरुको नाश हुने, सोच्ने शक्तिको वृद्धि हुने, समाजसेवाको भावना उत्पन्न हुने तथा हवनको ताप र धुवाबाट वातावरण शुद्धीकरण हुन्छ । यसरी हवन, पूजा–पाठ, धुपन विधि धार्मिक विधि मात्र नभइकन चिकित्सा विधिको एक उत्कृष्ट विधा हो, जुन अझै चिकित्सा पद्धतिको लागि भने ओझेलमा नै रहेको छ ।

मन र तनलाई शौच राख्नु, ईश्वर ध्यानमा लिन हुनु, भजनमा लिन हुनु, मान्यजन, आफन्तजनको आदर गर्ने बानी हुनु, आफूले गरेको गल्तिमा प्रयश्चित गर्न सक्नु र सिकाउनु, हितोपदेशको पाठ पढेर आफ्नो हित तथा कल्याणको कामनामा लाग्नु यो पनि दैवव्यपाश्रय चिकित्सामा पर्ने हितकर चिकित्सा पद्धति हो, जुनमा केही पद्धतिको अझै विकसित रुपमा आउन सकेको छैन तर यसको अभ्यास भने विभिन्न क्रियाकलापको रुपमा हुँदै आइरहेको छ । हाल विभिन्न धर्मका धर्मगुरुहरुले शिष्य लाई सिकाउँदै आएका पद्धतिमा यी पद्धतिहरु पनि पर्दछ । यो पनि शरीर र मनलाई हित गर्ने हुनाले धार्मिक तथा सामाजिक विधिको रुपमा मात्र सिमित नभइकन चिकित्सा विधिको रुपमा नै अगाडी बढ्दो क्रममा रहेको छ ।

यसरी चिकित्सामा औषधिहरु, आहारको चिकित्सा प्रयोग गरेर गरिने चिकित्सा सामान्य चिकित्सा पद्धति र मनलाई नियमन गरेर गरिने चिकित्सा मनको लागि हितकर चिकित्सा विधि तथा ओझेलमा रहेको महत्वपुर्ण चिकित्सा पद्धतिहरुमा दैवव्यपाश्रय चिकित्सा पद्धति अधिक मात्रामा पर्दछन् । हाल आएर यस चिकित्सा विधिको बारेमा चर्चा परिचर्चा हुन थालेको पाईन्छ । अन्य चिकित्सा विधि झैँ यो चिकित्सा विधिले कार्य गर्ने र मानव समाजलाई हितकारी हुने भएको हुनाले यो चिकित्सा विधि पनि चिकित्साको उर्वर पद्धति बन्न सक्नेछ र सम्पूर्ण जगतका लागि लाभकर हुनेछ ।

(लेखकः राष्ट्रिय आयुर्वेद संस्थान, जयपुरमा आयुर्वेद स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ)

यसमा तपाइको मत

अन्य समाचार