प्रदेश १ सरकारले आइसोलेशन निर्माण तथा सञ्चालनका लागि स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख बजेट

विराटनगर,
साउन २९ ।

प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनको लागि एक करोड ६० लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको हो ।
स्थानीय तहहरुलाई प्रदेश सरकारले थप रकम उपलब्ध गराएको हो । त्यस्तै ११ वटा जिल्ला अस्पतालहरुलाई कम्तिमा १० वेड क्षमताको आइसोलेशन केन्द्र बनाउन बजेट उपलब्ध गराएको छ ।

केही दिन अगाडि मात्र थप आइसोलेशन बेडहरुको व्यवस्था गर्न प्रदेश स्तरिय सिसिएमसी बैठकले निर्णय गरेको थियो । प्रदेश सरकारले विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० बेड क्षमताको आइसोलन केन्द्र बनाउनको लागि महानगरपालिकालाई १० लाख रकम उपलब्ध गराएको छ ।

रङ्गेली नगरपालिका वडा नं. ७ स्थित श्रीजनता क्याम्पसको भवनमा एकसय बेड क्षमताको आइसोलेशन बनाउन रङ्गेली नगरपालिकालाई १५ लाख, सुनसरी जिल्लाको हरिनगर गाउँपालिका-१ स्थित वी. जेनेरल अस्पतालमा ५० बेड क्षमताको आइसोलेशन बनाउन हरिनगर गाउँपालिकालाई १० लाख, बराहक्षेत्र नगरपालिका स्थित रमानन्द आचार्य सेवा पिठ, चतरामा एकसय बेड क्षमताको आइसोलेशनको लागि १५ लाख र सोलुदुधकुण्ड नगरपालिकालाई आइसोलेसन केन्द्र स्थापना र संचालन गर्न ५ लाख प्रदेश सरकारले उपलब्ध गराएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

त्यस्तै प्रदेश नं १ का ताप्लेजुङ, पाँचथर, ईलाम, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, खोटाङ्ग, सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर जिल्ला अस्पतालहरुलाई कम्तिमा १० बेड क्षमताको आइसोलेसन स्थापना र सञ्चालन गर्न पाँच लाखका दरले एकमुष्ट ५५ लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको छ ।

कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँ मोरङलाई २० लाख, कोभिड-१९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरलाई पाँच लाख र मेची अस्पताल, झापालाई १० लाख रुपैयाँ आइसोलेसन सञ्चालनका लागि उपलब्ध गराएको छ । त्यस्तै बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकालाई क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनका लागि पाँच–पाँच लाख प्रदेश सरकारले निकासा गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार