काठमाडौं,
साउन २९ ।
आजदेखि ७७ वटै जिल्लाबाट सवारी पास वितरण बन्द गरिएको छ । बुधबार गृह मन्त्रालयले निर्देशन जारी गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो ।
मन्त्रिपरिषद्का विभिन्न निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा जारी सवारी पास बन्द गर्ने गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न भनेको हो । कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ ।
‘हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्को व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि सवारी पास वितरण नगर्नू नगराउनुहुन आदेशानुसार अनुरोध छ’, मन्त्रालले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।
यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समयमा मुलुकभर कोभिड-१९ को सङ्क्रमण बढ्दो छ । काठमाडौँ उपत्यकामा समेत सङ्क्रमण बढिरहेकाले प्रवेशमा कडाइ गरिएको छ ।






