काठमाडौं,
साउन २१ ।
पाकिस्तानले आफ्नो नयाँ राजनैतिक नक्सा सार्वजनिक गरेको छ । पाकिस्तानको मन्त्रिपरिषदबाट पास गरिएको नयाँ नक्सामा जम्मू, कश्मीर, लद्दाख र जूनागढ़ पाकिस्तानमा समेटिएको छ ।
मंगलबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसबारे जानकारी दिँदै मन्त्रिपरिषदको यो निर्णयलाई विपक्षी पार्टी र कश्मिीरी (पाकिस्तान प्रशासित कश्मीर) नेतृत्वले समेत स्वागत गरेको बताएका छन् ।
प्रधानमन्त्री खानले भारतले गत साल अगस्ट ५ मा कश्मीरमा जे गैरकानुनी कदम उठायो पाकिस्तानको अहिलेको राजनितिक नक्शाले त्यसलाई नकार्ने बताएकाछन् । अब पाकिस्तानको स्कूल, कलेज, सरकारी कार्यालयमा मंगलबार जारी गरेको नयाँ आधिकारिक नक्शा हुनेछ ।
भारतले भने पाकिस्तानले जारी गरेको नक्शाको कुनै वैधता नभएको प्रतिक्रिया दिएको छ । उक्त नक्साप्रति भारतले आपत्ति जनाउँदै वैधता नभएको बताएको छ ।
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त नक्साको कानुनी वैधता र अन्तर्राष्ट्रिय विश्वसनीयता नभएको जनाउनु भएको छ । विदेश मन्त्रालयले भनेको छ, ‘यी हास्यास्पद दाबीको न कानुनी वैधता छ न अन्तर्राष्ट्रिय विश्वसनीयता नै ।’
भारतको विदेश मन्त्रालयले पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कथित ‘नयाँ राजनीतिक नक्सा’ सार्वजनिक गरेको देखेको उल्लेख गर्दै विज्ञप्तिमा भनेको छ, ‘यो उनको राजनीतिक मूर्खताको अभ्यास हो र यसले भारतको गुजरात राज्य र हाम्रो केन्द्र शासित जम्मु–काश्मीर र लद्दाखका क्षेत्रहरूमा दाबी गरेको छ ।’






