काठमाडौं,
साउन २१ ।
लेबनानको राजधानी बेरुतमा ठूलो बिस्फोट हुँदा कम्तीमा ७८ जनाको ज्यान गएको छ । बिस्फोटनमा परी चार हजार भन्दा बढी मानिस घाइते भएको लेबनानका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बेरुत शहरको तटीय क्षेत्रमा भएको बिस्फोटको भिडियोमा धुवाँको मुस्लो उड्दै गरेको तथा आगो दन्किरहेको देखिन्छ । गोदाममा विगत ६ वर्षदेखि राखिएको बिस्फोटक पदार्थका कारण ठूलो मानवीय क्षति हुने गरी बिस्फोट भएको सरकारी अधिकारीले बताएका छन् । राष्ट्रपति मिशेल एउनले ट्वीट गरेरका छन्, ‘२७ सय ५० टन एमोनियम नाइट्रेड असुरक्षित रुपमा स्टोर गरिनु अस्वीकार्य छ ।’
बिस्फोटनको थप कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको लेबनानका अधिकारीले बताएका छन् । लेबनानको सर्वोच्च सुरक्षा परिषदले घटनामा दोषी देखिनेमाथि कडा भन्दा कडा कारवाही गरिने बताएको छ ।
बिस्फोटका घाइतेका कारण अस्पतालहरु भरिभराउ हुँदा सेवा प्रभावित भएको छ । बिस्फोटबाट स्थानीय धेरै घरहरु ध्वस्त भएको पनि जनाइएको छ । राष्ट्रपति एउनले तीन दिनका लागि राष्ट्रिय शोक घोषणा गरेका छन् । उनले आकश्मिक कोषका लागि ६६ मिलियन अमेरिकी डलर प्रदान गर्ने पनि बताएका छन् ।
प्रधानमन्त्री हासन दियबले बिस्फोटलाई गम्भीर विनाश भनेका छन् । उनले जिम्मेवार सबैलाई कडा कारवाही हुनुपर्ने उल्लेख गरेका छन् ।
बिस्फोट शहरको तटीय इलाकामा भएको हो । अनलाइन पोस्ट गरिएको भिडियोमा बिस्फोटको दृश्य निकै भयानक छ । आगोका लप्का निकै माथिसम्म उठिरहेको देख्न सकिन्छ ।
स्रोतः बीबीसी






