थप २ सय ५९ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या २१ हजार ९ पुग्यो

काठमाडौं,
साउन २० ।

थप २ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ २ सय ५९ जना थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कूल सङ्क्रमितको सङ्ख्या २१ हजार ९ पुगेको छ ।

काठमाडौं‌ उपत्यकामा थप ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा ४८, भक्तपुरमा १३ र ललितपुरमा एक जना सङ्क्रमित देखिएका हुन् । काठमाडौ‌ं भित्रिने नाकाहरुमा गरिएको पीसीआर परीक्षणका क्रममा ४० जनामा कोरोना देखिएको प्रवक्ता गौतमले बताए । नागढुङ्गा १६ जना, साँगामा १३, र फर्पिमा ११ गरी काठमाडौं भित्रिन लागेका ४० जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या १५ हजार २६ छ ।

अहिले देशभर जम्मा पाँच हजार नौ सय २५ सङ्क्रमितको उपचार भइरहेको छ । जसमा प्रदेश १ मा ३ सय ३४, प्रदेश २ मा २४ सय २७, वाग्मती प्रदेशमा ७ सय १६ र गण्डकी प्रदेशमा २ सय ६३ जना सङ्क्रमित उपचाररत छन् । यसैगरी प्रदेश ५ मा ३ सय ३५, कर्णाली प्रदेशमा २ सय ९५ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५५ जना उपचाररत रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए । आजसम्म पीसीआर विधिबाट चार लाख ६ हजार पाँच सयवटा परीक्षण भएका छन् ।

कोरोना सङ्क्रमणबाट थप एकजनाको मृत्यु भएको छ । प्रवक्ता गौतमकाका अनुसार मोरङको विराटनगर महानगरपालिका ५, आदर्शटोलका ७७ वर्षीय पुरूषको मृत्यु भएको हो । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५८ पुगेको छ ।

गौतमका अनुसार ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि कोसी अस्पताल भर्ना भएका ती वृद्धाको मृत्यु भएको हो । मधुमेह तथा उच्च रक्तचापका बिरामी उनको उपचारका क्रममा निधन भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार