काठमाडौं,
साउन १८ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टी भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार सङ्क्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको छ । भारतमा तीव्र गतिमा फैलिरहेको सङ्क्रमणका कारण नेपाली पनि प्रभावित भएको र उनीको मृत्युको दर पनि बढीरहेको बताउँदै समितिका संयोजक डा. संजीव सापकोटाले बताउनुभयो । अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँ डिल्लीमा कार्यरत डा. सागर पौडेलले दिएको जानकारी अनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको सङ्ख्या थप २५ पुगेको पुष्टी यो साता भएको हो । भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित छन् ।
यस्तै यही साता साउथ अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । यस्तै साउदी अरबमा २ जनाको सङ्क्रमणकै कारण ज्यान गएको छ । योसँगै सङ्क्रमणका कारण विदेशमा मात्र १ सय ८९ जना नेपालीको मृत्यु भएको छ । शनिवार साँझसम्म नेपालका ५६ सहित विश्वभर २ सय ४५ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
पारिवारिक जमघटमा सहभागी ३५ नेपाली सङ्क्रमित
यूरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरु एकैपटक सङ्क्रमित भएका छन् । समितिका अनुसार एक पारिवारिक जमघटमा (वैवाहिक वर्षगाँठ) मा सहभागीसहित ३५ जनामा सङ्क्रमण पुष्टी भएको हो । सङ्क्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ । अहिलेसम्म विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतारमालगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको सङ्क्रमण रोकिएको छैन् ।
यसैबीच नेपालमा पनि कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । शनिबारसम्म नेपालमा २० हजार ८६ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने १४ हजार ४ सय ९२ जना कोरोना मुक्त भएका छन् । कोरोनो सङ्क्रमणका कारण नेपालमा निधन हुनेहरुको सङ्ख्या ५६ जना रहेको छ ।
दोस्रो महामारी आउने सक्ने
गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिले विश्वभर कोरोना भाइरसको सङ्क्रमणदर वृद्धि हुँदै गएपछि चिन्ता व्यक्त गरेको छ । समितिले स्पेन, बेल्जियम, युके, अमेरिकालगायतका देशमा पुनः कोरोना भाइरसको सङ्क्रमण वृद्धि हुन थालेपछि नेपाली समुदायलाई समेत सचेत रहन आग्रह गरेको छ । समितिले कोरोना भाइरसको दोस्रो लहर सुरु हुनसक्ने सम्भवना बढ्दै गएको निष्कर्ष निकाल्दै सार्वजनिक यातायात तथा अन्य मानिसहरु भेला हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ ।
उद्धार जारी, ३७ हजार ४ सय घर फर्किए
यसैबीच कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा अलपत्र ३७ हजार ४ सय २४ जना नेपाल फकिएका छन । गैरआवासीय नेपाली सङ्घ, नेपाली दूतावास र कुटनीतिक नियोग लगायतसँगको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो ।
नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुको उद्धारको लागि थप ५४ वटा थप उडान गर्न अनुमति दिएको छ । उद्धार उडान आगामी शनिबार (८ अगष्ट) सम्म हुनेछ ।
चौथोपटक अनुमति दिइएका मुलुक तथा सहरहरुमा जापान, मलेसिया, चीन, कुनमिङ, अस्ट्रेलिया, जेद्दा, दुबई, रियाद, कुवेत, कतार, दमाम, अबुधाबी र सारजाहा छन । गैरआवासीय नेपाली सङ्घले ती स्थानमा रहेका आफ्ना समन्वय समितिलाई आवश्यक सबै सहयोग गर्न निर्देशन दिइसकिएको गैरआवासीय नेपाली सङ्घको ‘कोभिड १९’ उच्चस्तरीय समितिको प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो । यो साता भारतसहित २९ वटा मुलुकबाट उद्धार उडान भएको थियो ।






