थप २ सय ७४ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १९ हजार ५ सय ४७ पुग्यो

काठमाडौं,
साउन १५ ।

थप २ सय ७४ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ २ सय ७४ जना थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १९ हजार ५ सय ४७ पुगेको छ ।

गत २४ घन्टामा २ सय २७ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सङ्ख्या १४ हजार २ सय ४८ पुगेको छ । २४ घन्टामा ६ हजार ३ सय ४ परीक्षण गरिएको छ । प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा १३ हजार २ सय १ रहेका छन् ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको छ । प्रवक्ता डा. गौतमका अनुसार मोरङको सुनवर्षी नगरपालिका ८ का ४५ वर्षीय पुरुषको साउन १४ गते मृत्यु भएको हो । उनलाई ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि विराटनगरबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बुधबार नै ल्याइएको थियो । उनको पीसीआर परीक्षण गर्दा बुधबार नै कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । उनको मृत्यु बिपी प्रतिष्ठान धरानको आइसोलेसनमा बुधबार साँझ पौने पाँच बजे भएको हो ।

त्यसैगरी पर्साको वीरगञ्ज नगरपालिका ७ का ७० वर्षीया पुरुषको बुधबार नै निधन भएको हो । मुटु तथा मधुमेह रोगका बिरामी उनको वीरगञ्जको निजी अस्पतालमा निमोनियाको उपचार गर्दै गर्दा साउत ८ गते कोरोना पुष्टि भएको थियो । उनको बुधबार बिहान ११ बजे नारायणी अस्पतालमा मृत्यु भएको हो । उनमा साउन १४ गते मात्र कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी पर्साकै वीरगञ्ज महानगरपालिका ५ का ६८ वर्षीय पुरुषकोसमेत बुधबार नै निधन भएको हो । साउन ७ गते कोरोना पुष्टि भएका उनी मिर्गौला पीडित थिए । साउन १३ गते नारायणी अस्पतालको आइसोलेसनमा राख्न नसकिएपछि उनलाई नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बुधबार बिहान ३ बजे मृत्यु भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार