कोरोना सङ्क्रमणका कारण थप एकजनाको मृत्यु

काठमाडौं,
साउन १० ।

कोरोना सङ्क्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बारा परवानीपुरकी १७ वर्षिय महिलाको कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए । उनका अनुसार गण्डक कोभिड अस्पताल वीरगञ्जमा उनको हिजो साँझ मृत्यु भएको हो ।

बाराको परवानीपुर घर भएकी १७ वर्षीया ती युवतीलाई स्वास्थ्यमा समस्या भएपछि बुधबार वीरगञ्जकै वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । बिहीबार राति साढे ९ बजे तिर वीरगञ्ज हेल्थ केयरबाट उनलाई गण्डकस्थित अस्थायी कोभिड अस्पताल लगिएको थियो । उनको आरडीटी पोजिटिभ आए पनि पीसीआर रिपोर्ट भने मृत्युपछि मात्र आएको हो । प्रवक्ता गौतमका मृतक युवतीलाई आइसोलेसनमा उपचारकै क्रममा पखाला धेरै चलेको थियो भने शरीरमा अक्सिजनको मात्र कम भएको थियो ।

योसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ ।

थप १ सय ९ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ १ सय ९ जना थप सङ्क्रमित पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १८ हजार ४ सय ८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ६ जना निको भएर घर फर्किएका छन् । प्रवक्ता डा. गौतमका अनुसार हालसम्म १३ हजार ५३ जना डिस्चार्ज भइसकेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार