थप १ सय ९ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १८ हजार ४ सय ८३ पुग्यो

काठमाडौं,
साउन १० ।

थप १ सय ९ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ १ सय ९ जना थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १८ हजार ४ सय ८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ६ जना निको भएर घर फर्किएका छन् । प्रवक्ता डा. गौतमका अनुसार हालसम्म १३ हजार ५३ जना डिस्चार्ज भइसकेका छन् ।

नयाँ सङ्क्रमितमा झापाका १, खोटाङका १, सप्तरीका ११, पर्साका ८, रौतहटका ४, सर्लाहीका १, चितवनका १, बाराका ३, मकवानपुरका १, नवलपरासी पूर्वका ६, काठमाडौंका २, ललितपुरका १, अछामका १, गुल्मीका ३, कपिलवस्तुका ६, पाल्पाका ४, बाँकेका २, बर्दियाका २, दाङका ५, तनहुँका १, अछामका २, कालीकोटका ३, दैलेखका ३, हुम्लाका १, जाजरकोटका ६, मुगुका २, सुर्खेतका २२, डढेलधुराका ८, डोटीका २६ र बैतडीका ३ रहेका छन् ।

कोरोना सङ्क्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । बारा परवानीपुरकी १७ वर्षिय महिलाको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए । उनका अनुसार गण्डक कोभिड अस्पताल वीरगञ्जमा उनको हिजो साँझ मृत्यु भएको हो ।

बाराको परवानीपुर घर भएकी १७ वर्षीया ती युवतीलाई स्वास्थ्यमा समस्या भएपछि बुधबार वीरगञ्जकै वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । बिहीबार राति साढे ९ बजे तिर वीरगञ्ज हेल्थ केयरबाट उनलाई गण्डकस्थित अस्थायी कोभिड अस्पताल लगिएको थियो । उनको आरडीटी पोजिटिभ आए पनि पीसीआर रिपोर्ट भने मृत्युपछि मात्र आएको हो । प्रवक्ता गौतमका मृतक युवतीलाई आइसोलेसनमा उपचारकै क्रममा पखाला धेरै चलेको थियो भने शरीरमा अक्सिजनको मात्र कम भएको थियो ।

योसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार